धरान । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूसँग छलफल गरेका छन् ।

आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरूसँग मंगलबार परामर्श गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेशले असार ३० गतेसम्म बजेट ल्याइसक्नु पर्ने हुन्छ ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र  संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवको उपस्थिति थियो । 

मुख्यमन्त्री राईले सरकारले केही दिनभित्रै संसद् बैठक बोलाउन लागेको जानकारी दिए । कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल गरिएको थियो । सरकारले संसद्बाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नगर्न समेत विपक्षी दलका नेताहरूलाई आग्रह गरेका थिए । 

संसदीय दलका नेताहरूले यस विषयमा आआफ्ना धारणा राखेका थिए ।