विराटनगर/ प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग प्रदेशका विपक्षी दलहरुले भेट गरि संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । उनीहरूले आइतबार प्रदेश प्रमुखसँग अधिकारीसँग भेट गरि यस्तो माग गरेका हुन् ।
प्रदेश सरकारले संसद् छलेर अध्यादेशमार्फत बजेट ल्याउने आशंका गर्दै संसद्बाहिरबाट बजेट नल्याउन खबरदारी गर्दै आएका विपक्षीले प्रदेश प्रमुखलाई भेटेर अधिवेशन आह्वानको पहल गरिदिन आग्रह गरे ।
प्रदेश प्रमुख अधिकारीले यसबारे सरकारसँग सल्लाह गर्ने वचन दिएका छन् । असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ ।
मुख्यमन्त्री शेरधन राईले संसद् छलेर बजेट ल्याउने सरकारको कुनै योजना नरहेको बताउँदै आएका छन् । तर, अहिलेसम्म बजेट अधिवेशन बोलाउने तयारी पनि सरकारले गरेको छैन ।
‘सरकारले महामारीलाई बहाना बनाएर संसद् निरन्तर छल्न खोजिरहेको छ’, प्रदेश प्रमुख भेटेर फर्केका माओवादी सांसद कुलप्रसाद साम्बाले भने, ‘त्यसैले अधिवेशन बोलाउन पहल गरिदिन हामीले प्रदेश प्रमुखलाई भेटेका हौं । उनले सरकारसँग छलफल गर्ने र पहल गर्ने वचन दिनुभएको छ ।’
काँग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश आर्थिक नियमावली र कार्यविधि सरकारले उल्लंघन गरिसकेको बताउँदै संविधानको पालना गराउन सरकारलाई सजग गराउन प्रदेश प्रमुखलाई आग्रह गरेको जानकारी दिए ।
काँग्रेसका दलका नेता राजीव कोइराला, प्रमुख सचेतक कार्की, सचेतक सूयर्माराज राई, जनता समाजवादी दलका नेता जयराम यादव, माओवादीका सांसदद्वय लिम्बु र विजय विश्वाससहितको टोलीले प्रदेश प्रमुखलाई भेटेको थियो ।