धरान । समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई लक्षित गरी विभिन्न संघसंगठनले विज्ञप्ति निकालेर धम्क्याएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रोशन पुरीले समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानूनी प्रक्रिायमा सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्की दिनु निन्दनीय र प्रेस विरोध काम भएको जनाइएको छ । संवाददाता आचार्यले केही दिनअिघ आफूनिकट पत्रिकामा सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता शीर्षकको समाचारको विषयलाई लिएर अपमानजकन शब्द प्रयोग गरी धम्क्याएका थिए । विज्ञप्तिमा पत्रकारलाई कारबाही गर्ने र सामाजिक बहिस्कार गर्ने भन्दै विज्ञप्तिमार्फत् धक्याएका थिए ।
उक्त विषयमा पत्रकारहरुको छाता संगठन महासंघले धम्की दिनेलाई तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ । उक्त विज्ञप्तिप्रति पत्रकारसँग सम्बन्धित अन्य संघसंगठनले पनि आपत्ति प्रकट गरेको छ ।
नेपाल पत्रकार महासंघ सुनसरी, माधव नेपाल तथा केपी ओली निकट एमालेको भातृ संस्था प्रेस चौतारी सुनसरी, नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति सुनसरीलगायतले विज्ञप्ति जारी गर्दै धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
खेलकुद पत्रकार मञ्च केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गर्दै धम्कीप्रति घोर आपत्ति प्रकट गर्दै धम्कीपूर्ण भाषा प्रयोग गर्ने व्यक्ति तथा संस्थालाई कारबाही गर्न माग गरेको छ ।