धरान । प्रधानमन्त्री र राष्ट्रपतिले मिलेमतोमा दोस्रोपटक पनि संसद् विघटनलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असंवैधानिक रहेको ठहर गरेको छ । 

मञ्चका अध्यक्ष कुमार लिंगदेन मिराकले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष शासन व्यवस्थाको विरुद्धमा लागेको भन्दै घोर भत्र्सना गरेको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै लेखेका छन्, ‘संघीय संसद्बाट नयाँ सरकार बन्नका लागि सबै सम्भावनाहरू उपयोग गरिनुपर्छ र त्यो सम्भावनाहरू यथेस्ट प्रयोग नभइन्जेल संसद् विघठन गर्न पाइँदैन ।’ 

अध्यक्ष लिंगदेनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई डरलाग्दो गेमप्लानको रुपमा अथ्र्याएका छन् । दोस्रोपटक पनि संसद् विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्ष शासन व्यवस्थालाई सिध्याउने खेल रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

मञ्च स्थापनाकालदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पहिचानको आधारमा १० प्लस १ प्रान्तको पक्षधर रहेकाले यसका लागि जस्तोसुकै बलिदान दिन पनि तयार रहेको जनाएका छन् । कोरोना महामारीका बेला नेपाली जनता अक्सिजन, बेड, औषधि नपाएर मरिरहेको अवस्थामा आफ्नो सत्ता जोगाउन विभिन्न खेल खेलेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ओली सरकारलाई कि राजीनामा कि जनताको उपचार गर्न आग्रह गरेको छ । नत्र कोभिडका कारण मृत्यु भएका पाँच हजार जनताको हत्या अपराध स्वीकार गर्न अध्यक्ष लिङदेनले चुनौती दिएका छन् । 

ओली सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यराति दोस्रोपटक संसद् विघटन गरेकी छन् । यसपटक राष्ट्रपतिले संविधानको धारा ७६ (७) अनुसार संसद् विघटन गरेको जानकारी दिएकी छन् । तर, यस विषयमा सबैजसो दलले आलोचना गर्दै आएका छन् ।