विजयपुर/ दोस्रो पटक असंवैधानिक संसद विघटन विरुद्ध माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) र माधव नेपाल पक्ष अनेरास्ववियूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
उनीहरुले कोरोना महामारी र निशेधाज्ञाका विच स्वास्थ्यका मापदण्ड पुरा गरि आन्दोलन गर्ने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।
जारी विज्ञप्तिअनुसार विरोध कार्यक्रमहरुमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झुण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने कार्यक्रम रहेका छन् ।
धरानमा सांकेतिक रुपमा विरोध
माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले प्रधामन्त्री केपी ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन विरुद्ध धरानमा विरोध जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी निषेधाज्ञाका विच अखिल क्रान्तिकारीले सांकेतिक विरोध गरेको हो । उनीहरुले धरानको भानुचोकमा प्ले कार्डसहित विरोध जनाएको छन् ।
उनीहरुले बोकेका प्ले कार्डमा प्रतिगमन मुर्दावाद, भारतीय दलाल मुर्दावाद, प्रधानमन्त्री÷राष्ट्रपति गठबन्धन मुर्दावाद, संघीय गणतन्त्र रक्षा गरौं लगायत देखिएको थियो ।
क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पसका संयोजक रविन श्रेष्ठले कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै आन्दोलन जारी राख्ने बताए । उनले प्रशासनले लगाएको लकडाउनका कारणले सांकेतिक रुपमा विरोध गरेको जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन माओवादी केन्द्र धरानका इन्चार्ज चोत्ल्ङले सम्वोधन गर्दै कोरोना भाइरस भयावह अवस्था भइरहको बेला भाइरस नियन्त्रणका लागि भ्याक्सिन खरिद गर्न छोडेर असंवैधानिक तवरले संसद विघटन गरि निर्वाचन घोषणा गर्नु गलत बताए ।
उनले जनताको रक्षाका लागि भ्याक्सिन खरिद नगरि अर्वौ रुपैया खर्चेर निर्वाचनमा लाग्नु जनताका विरुद्धमा भएको बताए ।