प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न सुझाव दिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने  प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न सुझाव दिएका हुन् ।   

प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक  निर्वाचनतर्फ नै अघि बढेको  स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गए राति दुई चरणमा  प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति  तोकेकी छन् । 

राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग छलफल गरेका हुन् ।