धरान । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा बिघटन गरी दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा भएको छ ।  बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि सिफारिस गरेपछि मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा बिघटन निर्वाचनको मिति तोकिएको हो । 

मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेको राष्ट्रपति कार्यालयले बिज्ञप्तीमार्फत जानकारी दिएको छ । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय भएको थियो ।

राष्ट्रपतिको निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोक्न सिफारिश गरेपछि राष्ट्रपतिद्वारा उक्त घोषणा भएको हो ।