धरान । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाबी गर्नका लागि राष्ट्रपति कार्यालय पुगेका छन् ।
प्रधानमन्त्री दाबी गर्दै देउवाले १ सय ४९ जना सांसद्को हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नै संविधानको धारा ७६ (५) बमोजिक सरकार गठनका लागि दाबी गर्नका लागि प्रतिनिधिसभाका सांसद्लाई आह्वान गरेकी थिइन् । आज साझ ५ बजेसम्मका लागि समयअवधि दिइएको थियो । देउवाले समयअगावै १४९ सांसद्को हस्ताक्षर लिएर पुगेका हुन् ।
उनलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र सत्तारुढ दलकै माधव नेपाल समूहले समर्थन दिएका छन् । सरकार गठनका लागि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भेला भई छलफल गरेका थिए । जसमा माधव नेपाल समूहका २७ जना, जसपा उपेन्द्र समूहका १३ जना सांसद्ले साथ दिने भएका छन् ।
हाल सरकार निर्माण गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका २७१ सांसद्मध्ये १३६ जना चाहिन्छ । यता जसपाको महन्थ ठाकुर समूह भने हालसम्म कुनै पनि निर्णयमा पुग्न सकेको छैन । यसअघि जसपाका अध्यक्ष ठाकुरले बैठक स्थगित भएको सूचना सर्कुलर गर्दा अर्का अध्यक्ष यादवले देशको वर्तमान अवस्थाका विषयमा छलफल गर्नुपर्ने भन्दै सूचना जारी गरेका गरेका थिए । यसअघि दुई अध्यक्षबीचको सहमति अँैचित्यहीन बनेको छ ।