धनकुटा । धनकुटा निर्माणमा महत्त्वपूर्ण योगदान दिएका धनकुटा नगरपालिकाका पूर्वकार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङ कोरोनासँग पराजित भएका छन् । 

धनकुटामा उनको योगदानको फेहरिस्त लामै छ । २०६३ देखि ०६९ सालसम्म कार्यकारी अधिकृत हुँदा धनकुटाले रुप फेर्ने अवसर पाएको थियो । हालै झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत उनी सोमबार कोरोनासँग पराजित भए । बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उनले प्राण त्यागे । 

विक्रम संवत् २०२५ फागुन १३ गते संखुवासभाको साविक माम्लिङ गाविस–४ (हाल धर्मदेवी नगरपालिका ४ स्थित भालाकोङ्गगु टोल) जन्मिएका साहिँला सन्तान हुन् । संखुवासभाको साविकको तामाफोक गाविसस्थित चामुण्डे माविबाट २०४३ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । खाम्याहाङले ग्रामीण विकास, नेपाली, राजनीति शास्त्र र एमपिए (व्यवस्थापन) गरी चारवटा विषयमा स्नातकोत्तर पूरा गरी कानूनमा एलएलबी पनि पूरा गरेका थिए ।

२०५१ सालमा शिक्षा सेवा आयोगबाट प्रा.स.मा नाम निकाल्न सफल उनी जिल्ला शिक्षा कार्यालय तेह्रथुममा पहिलो कार्यकाल बिताए । जिल्ला शिक्षा कार्यालय तेह्रथुममा कार्यरत रहँदा रहँदै २०६० सालमा लोकसेवा आयोगबाट शाखा अधिकृतको परीक्षा उत्र्तीण गरी जनकपुर नगरपालिकमा कार्यकारी अधिकृतको रुपमा सरुवा भए ।

२०६३ सालमा धनकुटा नगरपालिकामा कार्यकारी अधिकृत रुपमा सरुवा भएर आएपछि उनले करिब ७ वर्ष धनकुटेलीको सेवामा समर्पित भए । उनी केही समय स्थानीय विकास मन्त्रालय काठमाडौंमा केही समय काम गरेपश्चात् जलेश्वर नगरपालिकाको कार्यकारी अधिकृत, लाहान नगरपालिका कार्यकारी अधिकृत र मोरङ्ग पथरीशनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, इलाम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, झापाको मेची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदै अर्जुनधाराको प्रशासकीय अधिकृत सम्हाल्दै आएका थिए । उनी हाल धरान १६ सखुवागाछीमा स्थायी रुपमा बस्दै आएका थिए । श्रीमती, २ छोरा, २ छोरी छन् ।

साविक धनकुटा नगरपालिका ४, हाल धनपा–६ सल्लेरीमा नेपालकै नमुना फोहर–मैला व्यवस्थापन केन्द्र निर्माण, त्रिवेणी याक्चाना सडक निर्माण, बसपार्कमा सपिङ्ग कम्प्लेस निर्माण, भीमसेनथान चोकदेखि टुडिखेल जाने सडक कालोपत्रे, बसपार्क सिँढी निर्माण, बसपार्कमा व्यवस्थित शौचालय निर्माण, नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई बसपार्कमा भवनसहितको ५ आना जग्गा प्रदानलगायत दर्जनौं विकासका काम गरेका थिए । खाम्याहाङ्गले पत्रकार महासंघ धनकुटा शाखाका जग बसाएको पूर्वअध्यक्ष समेत रहेका धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईले बताए । 

यसैबीच नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत तथा विकासपे्रमी, कुशल प्रशासक खाम्याहाङ्गको असमायिक निधनप्रति शोक विज्ञप्ति जारी गरेको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ति जारी गर्दै करिब ७ वर्षसम्म धनकुटा नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा कुशलतापूर्वक कार्य सम्पादन गरी विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान दिएका उल्लेख गरे ।

नेकपा एमालेका नेता धर्मराज पौडेलले पनि खाम्याहाङको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको फेसबुकमा लेखेका छन् । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका पूर्वअध्यक्ष पार्वती राईले धनकुटा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत खाम्याहाङको निधनले मुलुकका लागि ठूलो क्षति भएको बताइन् ।