धरान । नेपालको संविधानको धारा ७६ (३) लाई प्रयोग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । 

नेकपा एमालेका अध्यक्ष ओलीलाई संसद्को सबैभन्दा ठूलो दलको हैसियतले राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । बिहीबार साँझ प्रधानमन्त्री नियुक्त भएका ओलीको आज (शुक्रबार) दिउँसो २ बजे पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री ओली सरकारले वैशाख २७ गते विश्वासको मत गुमाएपछि उनी पदमुक्त बनेका थिए । त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसद्मा रहेका दलहरुलाई सरकारको लागि समर्थन जुटाउन तीन दिनको समयसीमा दिएकी थिइन् । त्यसअवधिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, समाजवादी पार्टी नेपालले सरकारका लागि समर्थन जुटाउन नसकेपछि धारा ७६ (३) अनुसार संसद्मा सबैभन्दा ठूलो दलका हिसाबले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । 

पदमुक्त भएको तीनदिन पछि ओली पुनः तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आज दिउँसो २ बजे पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम छ । पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा ओलीलाई मात्रै सूचना पुगेको भए पनि आफूसँगै अन्य मन्त्रीलाई पनि सपथ ग्रहण गराउने सम्भावना रहेको छ । 

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन दाबी नगरिएको हो । त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउनका लागि कसरत गरेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षधरले साथ दिए पनि महन्थ ठाकुर पक्षधरले साथ नदिएपछि सरकार बनाउन नसकेका हुन् । ठाकुर पक्षसँग १५ सांसद् छन् । कांग्रेस, माओवादीको सरकार बनाउनका लागि ठाकुर पक्षले पनि सघाउनु पर्ने अवस्था थियो । 

तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका ओलीले अबको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । प्रतिनिधिसभामा विश्वासको मत नपाए उनी पदमुक्त हुनेछन् । त्यसपछि संविधानको धारा ७६ (४) लगायतका धारा आकर्षित हुनेछन् ।