मारवाडी समुदाय बसोबास गर्ने नेपालका सबै क्षेत्रमा गणगौर पर्व मनाइन्छ । यसपालि धरानमा पनि समाजसेवी अनिता अटलको अध्यक्षतामा नेपाल गणगौर पूजा समारोह समिति, धरान शाखाले गणगौर महोत्सव गरी मनाएको थियो । तर, यो पर्व के कसरी मनाइन्छ भन्नेबारेमा धेरै अनभिज्ञ रहेको पाइन्छ । 

नेपालको सर्वाङ्गीण विकासमा त्यसमा पनि मुख्यरूपले उद्योग र व्यापारको क्षेत्रको विकासमा महŒवपूर्ण योगदान पु¥याउँदै आएका मारवाडी समुदायको पनि आफ्नै संस्कार, संस्कृतिहरू छन् । वर्षभरि प्रत्येक महिना कुनै न कुनै धार्मिक ब्रत पर्व आदि मनाउने यस जातिको विशिष्ट सांस्कृतिक उत्सव ‘गणगौर’ एउटा महŒवपूर्ण धार्मिक पर्वमध्ये पर्छ । नेपालको सुदूर पश्चिममा परापूर्वकालदेखि मनाउँदै आइएको गौरापर्व र गणगौरमा सामिप्यता र समानता रहेको छ । यी दुवै पर्वमा मुख्यरूपले शिव र पार्वतीको पूजा महिलाहरूबाट गरिन्छ । गणगौर पर्व मुख्यरूपले कुमारी र नवविवाहित मारवाडी महिलाहरूले मनाउँछन् । यो पर्व मनाउन गीत गाउँदै कुमालेकहाँ पुगेर माटो ल्याई मूर्तिहरू बनाइन्छ । ती बनाइने पाँच मूर्तिहरू इसर, गौराँ, कानीराम, रोवाँ र मालणीका हुन् । ‘इसर’ शङ्कर भगवान र ‘गौराँ’ माँ पार्वती हुन् । कानीराम इसरजीको भाइ र रोवाँ इशरजीकी बहिनी हुन् । उनीहरूसँगै मालण (मालिनी) को पूजा हुन्छ । यस पर्वमा माता पार्वती र शङ्कर भगवानसँग बिहे नगरेकी कन्याहरूले राम्रो पतिको कामना गर्छन् । त्यस्तै बिहे गरेकी महिलाहरू आफ्ना पतिको सुस्वास्थ्य दीर्घायु अर्थात् आफ्नो अटल सौभाग्यको कामना गर्दछन् ।

होली खेलेको दिनलाई मारवाडीहरूले ‘छारँडी’ भन्छन् । त्यही दिन गणगौर पूजा गर्ने कन्याहरूले होलिका दहनपछि बचेको खरानीले आठ पिँडी र गोबरले आठ पिँडी बनाएर पूजा सुरु गर्छन् । घरको एक भित्ताको सामुन्ने राखेर पूजा गरिन्छ अर्थात् पूजास्थलको भित्तामा प्रत्येक दिनको एकको हिसाबले एउटा मेहन्दी र एउटा काजलको टीका लगाइन्छ । दूध, जल, रोली, चामल र दुबो चढाएर पूजा गरिन्छ । होलीको करिब सात दिनपछि शीतला माताको पूजा गर्ने दिन आउँछ, जसलाई ‘बासेडा’ भनिन्छ । बासेडासम्म त्यही पिँडीहरूको मात्र पूजा गरिन्छ, जसलाई छोटी गणगौर भनिन्छ । बासेडाका दिन कुमालेकहाँबाट माटो ल्याएर माथि उल्लेख गरेबमोजिम पाँचवटा मूर्ति बनाई पूजा सुरु हुन्छ । ती पाँचै मूर्तिलाई गहना र रङ्गीचङ्गी लुगाले सजाइन्छ, शृङ्गार गरिन्छ । त्यसलाई ‘बडी गणगौर’ भनिन्छ । त्यही दिनदेखि दिउँसो गणगौरलाई प्रसादीको भोग लगाएर पानी खुवाइन्छ र बेलुकीपख धूपबत्ती गरी गणगौरका धार्मिक गीतहरू गाइन्छन् । पानी खुवाउन चेलीबेटीहरू पहिले गाउँभरिका सबै कुवामा पुग्थे । तर, अहिले त्यो सम्भव नभएर जुन अवस्थामा ताजा पानी प्राप्त हुन्छ, त्यही खुवाइन्छ । त्यही दिन ‘झँवारा’ अर्थात् ‘जमरा’ उमार्न बिउ राखिन्छ । सबै महिलाहरू हर्षविभोर भएर खुसियाली मनाउँछन् । आफ्ना हत्केला मेहन्दीले सजाउँछन् । गणगौरलाई आइतबार बाहेक प्रत्येक दिन दुबोको दातुन चढाइन्छ, मीठो मीठो गीत गाइन्छ । 

बिहानै नुहाई धुवाई गरेर केटीहरू हरियो दुबो ल्याउन बगैंचामा गएर मालीलाई गीत सुनाई आग्रह गरेर बारी बगैँचाबाट हातभरि पोको पारेर समूहगत रूपमा दुबो सङ्कलन गरेर ल्याउँछन् । विशेष सम्मान समर्पित गर्न ‘बिन्दोरा’ को रूपमा पूजा हुन्छ । जसमा चना र गहुँलाई रातभरि पानीमा राख्ने र पछि उमालेर चिनी मिसाएर बनाएको प्रसादी जसलाई ‘घुघरी’ भनिन्छ । त्यसको प्रसाद अर्पित गरिन्छ । सँगै काँचो आँटामा घ्यू, चिनी मिसाएर बनाइएको प्रसादी जसलाई ‘मोइ’ भनिन्छ, त्यसलाई अर्पित गरिन्छ । काँसा धातुको थालमा काँचो माटोको बलिरहेको दियोलाई फलामको छलनी (चाननी) ले छोपेर बिन्दोरा पूजा हुन्छ । त्यस थालमा घरमा रहेका बुबा दाजुभाइहरूले रुपैयाँ राखेर चेलीबेटीहरूप्रति स्नेह अर्पित गर्छन् । त्यतिबेला गाइएका गीतहरूले वातावरण अत्यन्त मनमोहक भइदिन्छ । बडी गणगौरको पूजाको समयमा पर्ने आइतबारका दिन महिलाहरूले नुन नखाई ब्रत बस्छन् । त्यो दिन एउटा गहुँको मोटो रोटी पकाइन्छ जसलाई ‘रोटो’ भनिन्छ । यसमा एउटा प्वाल पारेर त्यसबाट सूर्य भगवानको दर्शन गरिन्छ । कन्याहरूले दुपट्टाले र विवाहित महिलाहरूले चम्किला बुट्टाहरूले सजिएको ओढनीबाट रोटो र आफूलाई छोपेर ‘सूर्य भगवान दिख्यो, दिख्यो सो ठुठ्यो’ भनेर अर्घ दिन्छन् ।

चैत कृष्ण एकादशीदेखि चैत शुक्ल तीजसम्म मनाइने यो पर्वमा पर्ने अमावश्या पछिको तीन दिन महिलाहरूलाई विभिन्न भेटी दिएर राम्रो राम्रो पकवान खुवाएर लुगा दिएर माया स्नेह दिँदै ‘सिँधारा’ गरिन्छ । हाँसो, ठट्यौली गरिँदै नाचगान गरी रमाइलो गरिन्छ । गणगौरका बखतका यी सुनौला पलहरू प्रत्येक मारवाडी महिलाले जीवन पर्यन्त आफ्नो सम्झनामा राखेकी हुन्छिन् । माइतीघरको बाल्यकालका यी क्षणहरूलाई सम्झँदै आँखाहरू खुसीले स्वतः रसाउँछन् । जसको स्वागत गरिन्छ, त्यसको बिदाइ पनि गरिन्छ नै । आखिर त्यो बिदाइको दिन पनि आइहाल्छ । चैत शुक्ल तीजका दिन आफ्नो प्राणभन्दा प्यारी गणगौरलाई इशर कानीराम रोवाँ र मालणका साथ नजिकको नदी जलाशयमा लगेर विसर्जित गरिन्छ । विसर्जन गरिने ठाउँमा ठूलो मेला नै लाग्दछ । सबै विवाहित, अविवाहित महिलाहरू नयाँ नयाँ पहिरन र गहनाले आफूलाई सजाएर गौर मातालाई बिदाइ गर्ने मेलामा पुग्छन् । त्यसबेला त्यहाँ सामूहिक रूपमा गाइने गीत र प्रस्तुत हुने नृत्यहरूले वातावरण भावनात्मक हुन्छ । विराटनगरमा तीन दशकदेखि मूलचन्द तापडियाको सक्रियतामा गणगौर पूजा समिति गठन गरी गणगौर पूजा गरिँदै आएको छ । नेपालका विभिन्न गाउँ सहरमा बसेका मारवाडीहरू आफ्नो संस्कृतिप्रति पूर्ण सचेत रहेर आफ्ना सबै ब्रत त्यौहारहरू मनाई आफ्नो संस्कृतिको जगेर्ना गर्न दत्तचित भई लागिपरेका छन् । हामी सबैलाई गणगौर माताले आफ्नो संस्कृतिप्रति समर्पित रहने प्रेरणा देओस् । 

(विराटनगरवासी लेखक नेपाल गणगौर पूजा समारोह समितिका अध्यक्ष हुनुहुन्छ ।)