विराटनगर। मोरङ र सुनसरी क्षेत्रमा रहेर सुनचाँदीलगायतका बहुमूल्य गरगहनाको कारोबार गर्ने अनुमति लिएका सुनचाँदी सञ्चालकले गैरकानूनी रूपमा बैङ्किङ कारोबार गर्ने गरेको पाइएको छ । 

उर्लाबारी नगरपालिका–६ डिबीमार्गको गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भनिने गोपाल गौतम तीन सयजनाभन्दा बढी सर्वसाधारणको १२ करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएपछि बैङ्किङ कारोबारबारे खुलेको हो ।

त्यसो त धेरै स्थानमा यस्ता कारोबार हुने गरेको बेला–बेला सार्वजनिक हुँदै आएको छ । कतिपयले भित्रभित्रै सहकारी चलाउने पनि गरेका छन् । सुन पसलेले अवैध रूपमा पासबुक छापेर बैङ्क र सहकारीको भन्दा आकर्षक ब्याज दिने भन्दै सर्वसाधारणबाट रकम सङ्कलन गर्दै आएका छन् ।

यसअघि पनि मोरङको बूढीगङ्गा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामक सुन पसलका सञ्चालक चन्दन स्वर्णकार र उनकी श्रीमती सङ्गीता धितोमा राखिएको सुनचाँदी र बचत गरेको करोडौं रुपैयाँ लिएर फरार भएका थिए ।

पीडितका अनुसार गाउँपालिकाका ३ सयभन्दा बढी ग्राहकले ‘चन्दा ज्वेलर्स’ मा सुनचाँदी बन्धक राखेर ऋण लिएका थिए । पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा चन्दन र सङ्गीताका विरूद्धमा किटानी जाहेरी दर्ता गरेका थिए । 

त्यस्तै विराटनगरबाट २ वर्ष पहिले ओमलक्ष्मी ज्वेलर्सका शिशु बेगबानी पसल बन्द गरेर यसैगरी सपरिवार भागेका थिए । प्रहरीले बेगवानी परिवारलाई हालसम्म पत्ता लगाउन सकेको छैन । शिशु र उनको कम्पनी तथा परिवारमा रहेको सबै घरजग्गा बैङ्कले लिलाम गरिसकेको छ । उल्लेखित घटनाले पनि सुन व्यवसायीले कानूनविपरीत बचत सङ्कलन तथा ऋण लगानी गर्दै आएको पुष्टि हुन्छ ।

नेपाल राष्ट्र बैङ्क ऐन २०५८ ले निक्षेप उठाउने र ऋण लगानीको काम गर्न नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ७६ (उपदफा १) मा ‘कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैङ्कबाट तोकिएबमोजिम स्वीकृति लिनुपर्नेछ’ भन्ने उल्लेख छ ।

तर, ऐन कार्यान्वयनमा राष्ट्र बैङ्क र प्रहरी प्रशासनको ध्यान नपुग्दा सुनचाँदी व्यवसायीले गैरकानूनी रूपमा निक्षेप सङ्कलन गर्ने तथा सुन धितो राखेर सर्वसाधारणलाई ऋण दिने काम निर्वाध रूपमा गर्दै आएका छन् । सुन पसलबाट कारोबार गरेका सर्वसाधारणहरूको लगानी सधैँ जोखिममा पर्ने गरेको छ । 

उर्लाबारीका गौतम सुनचाँदी पसलका सञ्चालक दीपक गौतमले पनि ग्राहकहरूलाई बैङ्क र सहकारीले भन्दा आकर्षक ब्याज दिँदै आएका थिए । १ लाखदेखि २० लाख रुपैयाँसम्म ब्याजमा लगाउने सर्वसाधारण रहेका थिए । अहिले त्यस्ता सर्वसाधारण बिचल्लीमा परेका छन् । गौतम फरार भएपछि पीडितहरूले पैसा फिर्ता माग्दै जनप्रतिनिधिदेखि स्थानीय प्रशासनलाई हारगुहार गरिरहेका छन् ।

सुनसरीको इटहरी, धरान र मोरङको विराटनगर, उर्लाबारी, पथरीलगायत क्षेत्रका अधिकांश सुन पसलले गैरकानूनी धन्दा चलाउँदै आएको जानकारहरू बताउँछन् । अधिकांशले व्यक्तिगत पासबुक नै छापेर कारोबार गर्दै आएका छन् । एक–दुई सुन पसलबाहेक सबैले यस्तो धन्दा चलाउँदै आएको एक सुन पसल सञ्चालकले नाम नछाप्ने शर्तमा बताए । ठूला सुन पसलले करोडौं करोडको कारोबार पासबुक राखेर सञ्चालन गर्ने गरेको उनको भनाइ छ । 

केही समयअघि नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो सीआइबीले अनुमति नै नलिई बैङ्किङ कारोबार गरेका विभिन्न इन्भेष्टमेण्ट कम्पनी, सुन पसल, फेन्सी पसलमा छापा मारेपछि इटहरीका सुन पसल सञ्चालकहरूको पनि भागाभाग भएको थियो । केही समय कारोबार बन्द गरे पनि अहिले भने पुनः कारोबार सञ्चालन गरेका छन् ।

नेपाल राष्ट्र बैङ्क विराटनगरका निर्देशक सत्येन्द्र तिम्सिनाले सुनचाँदी व्यापारीले बचत सङ्कलन गर्नु तथा ऋण दिनु गरैकानूनी भएको र यसलाई नियन्त्रण गर्ने जिम्मेवारी प्रशासनको रहेको बताए । ‘राष्ट्र बैङ्कको स्वीकृति नलिइकन कसैले पनि बचत सङ्कलन र ऋण दिनु गैरकानूनी कार्य हो’–उनले भने ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले स्वीकृति नलिई सुन पसलहरूले बचत कारोबार गर्नु गैरकानूनी भएकाले यस्ता पसललाई कारबाहीको दायरामा ल्याउने बताए । ‘राष्ट्र बैङ्कबाट सुनचाँदी व्यापारीले बचत सङ्कलन गर्नु तथा ऋण दिनु गरैकानूनी हो’ उनले भने, ‘यस्तो भेटिए कानूनी दायरामा आउनेछन् ।’ एसपी खड्काले सर्वसाधारणहरूलाई कानूनी मान्यता पाएको बैङ्क र सहकारीहरूबाट मात्र कारोबार गर्न आग्रह गरेका छन् । 

बैङ्कभन्दा व्यवसायीले छिटो र सहज रूपमा ऋण दिने र धितोको मूल्याङ्कन पनि बढी गर्ने भएकाले सर्वसाधारण यतातर्फ आकर्षित भएको वित्तीय जानकार बताउँछन् । बैङ्कले धितो मूल्याङ्कन गरेर मात्र ऋण दिने, लामो प्रक्रिया, बिललगायतका कागजात खोज्ने भएकाले पसलबाट ऋण लिने गरेको ऋषि सर्वसाधारण बताउँछन् ।