नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन्नौं भन्ने थाहा पाउँदा  पाउँदै विश्वासको मत मागेको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेपछि सदनमा बोल्दै कांग्रेस सभापति देउवाले सुरुमै पहिलो पदावली नै प्रम ओलीले विश्वासको मत मागेको सम्बन्धमा बोले । 

सभापति देउवाले देश अप्ठ्यारोमा रहेको बताउँदै बहुलवादमा आधारित संघीय लोकतान्त्रिक र गणतान्त्रिक देश सुरक्षित छ ? भन्ने प्रश्न गरे । उनले इतिहासले प्रश्नको जवाफ खोजिरहेको बताए ।

लिखित मन्तव्य राख्दै देउवाले झण्डै दुई तिहाइ मत पाएको सरकारले प्रतिनिधि सभामा विश्वासको मत लिन आउनु परेको छ । यसका लागि को जिम्मेवार छ ? भन्ने प्रश्न गर्दै यसमा स्वयम् प्रधानमन्त्री जिम्मेवार रहेको बताए । 

उनले प्रश्न गरे– देशको हितमा काम गर्न कसले कहाँ रोक्यो ? नेपाली कांग्रेसले सिर्जनात्मक प्रतिस्पर्धी हुँदा आलोचित हुनुपरेको बताए । 

देउवाले सदनमा प्रधानमन्त्री ओलीविरुद्ध प्रश्नैप्रश्न तेस्र्याए । आफू कार्यकारी अरुमाथि दोष थोपर्ने ? जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनु हुन्छ ? 

विगत ३ वर्षको मूल्यांकन गर्दा केपी शर्मा ओलीको सरकार पूर्ण रुपमा असफल देउवाले दाबी गरे । उनले प्रश्न गरे, ‘छातीमा हात राखेर सोच्नुस्, यो अवस्थाको सिर्जना हुनुमा को दोषी छ ? दम्भ, कुशासन र भ्रष्टाचारले होइन ?’ 

कोभिडको सन्दर्भमा समयमा सरकारले काम नगरेको आरोप लगाउँदै सभापति देउवाले कोभिड १९ को उच्च जोखिममा रहेकोमा सरकार पूर्ण रुपमा जिम्मेवार छ कि छैन ? भन्ने प्रश्न गरे । देउवाले सावधानी नअपनाएका कारण संक्रमण भयावह भएको  आरोप  लगाए । संक्रमण तीव्र रुपमा फैलिरहँदा प्रधानमन्त्री ओली धरहरा उद्घाटन गर्न गएको बताउँदै यसलाई गैरजिम्मेवारीको नमूना हो भने ।  

देउवाले औषधिमा भ्रष्टाचार भएको भन्दै यसलाई अक्षम्य अपराध भने । खोपमा भ्रष्टाचार गर्नुले नैतिक रुपमा सरकार उदाङ्गो भएको जिकिर गरे । यो भन्दा निर्लज्जता के हुन सक्छ ? लिखित मन्तव्य वाचन गर्दै देउवाले प्रश्न गरे, ‘जनतालाई अक्सिजन दिन नसक्ने, जनता मरिरहँदा आत्म प्रशंसा गर्नु विडम्बना भन्दा के हुन सक्छ ?’

प्रतिनिधि सभालाई उपसभामुखविहीन राख्नुमा को जिम्मेवारी छ ? असंवैधानिक र आलोकतान्त्रिक तवरले प्रतिनिधिसभालाई विघटन गरेको आरोप लगाउँदै देउवाले संविधान प्रतिकूल काम गर्दा प्रतिगामी कदम भनेका स्पष्ट पारे । अदालतले सच्याइदिंदा समेत प्रम ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवश्यक्ता नदेखेको उनले बताए । 

प्रम ओलीले लोकतान्त्रिक विधि र पद्धतिलाई कुन्ठित गर्ने काम गरेको आरोप लगाए । उनले भने, ‘अधिकारको विकेन्द्रिकरण गर्ने काम गर्नुभयो, सरकारका विभाग आफूमातहत राख्ने, संविधानका मूल संरचना भत्काउने, संघीय संसदलाई छलेर अध्यादेशमार्फत् काम गर्ने, संवैधानिक परिषद्लाई आफू अनुकूल राख्ने ।’ देउवाले सरकारको कामलाई विरोध गरिरहेको बताए ।

देउवाले यसो भनिरहँदा प्रतिपक्षले टेबल ठोकिरहेका थिए भने प्रधानमन्त्री ओली डायरीमा टिपोट गरिरहेका थिए ।