प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । सरकारको सिफारिसमा एक साता अघि राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत लिने प्रयोजनका लागि संसद् बैठक आह्वान गरिसकेकी छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठकमा विश्वासको प्रस्तावमा मतदान हुनेछ । प्रधानमन्त्री ओलीका तर्फबाट हिजो विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।  

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने विषयलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ । अन्तर्राष्टिय सञ्चार माध्यममा पनि विशेष गरी भारतीय मिडियाले प्रधानमन्त्री ओलीको किस्तम (भाग्य) को फैसलाका रुपमा आजको दिनलाई लिएका छन् । 

भारतीय सञ्चार माध्यम अमरउजालाले ‘प्रधानमन्त्री ओलीको किस्मतको फैसला आज, संसद्मा पेश हुनेछ विश्वास मत’ शीर्षकमा समाचार लेखेको छ ।

समाचारअनुसार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको किस्मतको फैसला सोमबार हुनेछ । संसदको तल्लो सदनमा बहुमत साबित गर्नका लागि उनलाई विश्वासको मतमा विजयी प्राप्त गर्नुपर्ने छ । 

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्वारा समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा परेको छ । 

यसैले प्रधानमन्त्री ओलीलाई तल्लो सदनमा बहुमत साबित गर्नुपर्ने छ । 

नेपालमा सोमबार संसदको विशेष सत्र बोलाइएको छ । प्रधानमन्त्री ओली २७५ सदस्यीय सदनमा बहुमत साबित गर्नका लागि विश्वासको मतमा विजयी पाउने प्रयासमा रहने छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (युएमएल) ले आफ्ना सबै सांसद्लाई ह्वीप जारी गरी प्रधानमन्त्रीको पक्षमा मतदान गर्न अनुरोध गरेको छ । 

हाल तल्लो सदनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (युएमएल) लाई १२१ सदस्यको समर्थन छ । यद्यपि विश्वासको मत लिने क्रममा अन्य दलका सांसद्को समर्थनबाट बहुमत प्रमाणित गर्ने ओलीले विश्वास लिएका छन् । 

सूत्रलाई हवाला दिंदै अमर उजालाले कम्युनिस्ट पार्टी (युएमएल) को माधव नेपाल नेतृत्वको खेमाले प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्नु अघि नै २२ सांसदले राजीनामा दिने चेतावनी दिएको उल्लेख गरेको छ ।