धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने कार्यक्रम तय भएको छ । 

आज अपरान्ह १ बजेतिर प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेकी हुन् । वैशाख २७ गतेका लागि संसद् अधिवेशन बोलाइएको हो । आइतबार मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकले कोरोना संक्रमित सांसद्लाई पनि मतदानका लागि व्यवस्थापन गर्न सकिने निर्णय गरेको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले राखेको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सक्ने सम्भावना निकै कम रहेको छ । किनकि यसअघि नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ओलीलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाइसकेका छन् । यसबीचमा ओलीसहित एमोलका शीर्षस्थ नेता कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवासमा भेट्नका लागि पुगेका थिए । 

कांग्रेससँगै माओवादी केन्द्रले पनि ओलीको विपक्षमा मतदान गर्ने जनाएका छन् । त्यस्तै जनता समाजवादी पार्टीले पनि अहिलेसम्म मतदान गर्ने विषयमा ह्वीप जारी नगरे पनि पार्टी अध्यक्ष उपेन्द्र यादवले विपक्षमा मतदान गरिने जनाइसकेका छन् । नेकपा एमालेका सांसद्ले मात्रै मतदान गर्दा पनि विश्वासको मत नपुग्ने अवस्था छ । किनकि एमालेमा १२१ सांसद् छन् । ओलीलाई बहुमत पुर्याउनका लागि १३६ सांसद् चाहिन्छ । 

अहिलेको अवस्थामा एमालेभित्रै देखिएको तीव्र अन्तरविरोधका कारण पनि फ्लोर क्रस हुने सम्भावना अत्यधिक देखिएको छ । यसको उदाहरणको रुपमा कर्णाली प्रदेशलाई लिन सकिन्छ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा नेकपा एमालेका पाँचजना सांसद्ले फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गर्ने सांसद्लाई पार्टीले कारबाही पनि गरिसकेको छ । 

प्रधानमन्त्री ओलीले माधव नेपाल समूहलाई अपराधीको संज्ञा दिँदै आइरहेका छन् । नेपाल समूह अहिले अल्पमतमा रहेको अवस्था भए पनि विश्वासको मत लिने सन्दर्भमा भने निर्णायक हुन सक्ने अनुमान गरिएको छ । यदि फ्लोर क्रस गरेको अवस्थामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन निकै गाह्रो हुने अनुमान गरिएको छ ।

संसदमा नेकपा एमालेका १२१ सांसद् छन् । यस्तै कांग्रेसका दुई निलम्बितसहित ६३, नेकपा माओवादी केन्द्रका ४९, जसपाका दुई निलम्बितसहित ३४ सांसद् छन् ।