कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । कोरोना सङ्क्रमणबाट मङ्गलबार एकै दिन ५५ जनाको ज्यान गएको छ भने ७ हजार ५ सय ८७ सङ्क्रमित थपिएका छन् । यो तथ्याङ्कले पनि कोरोनाको महामारी कुन गतिमा फैलिरहेको छ भन्ने प्रष्ट पार्छ । कोरोना सङ्क्रमणले विकराल रूप लिँंदै गर्दा सबैमा छाएको चिन्ता हो, हामी कसरी सुरक्षित रहने ? प्रश्न सहज भए पनि यसको स्पष्ट जवाफ कसैसँग छैन । किनकि आमनागरिकको अभिभावक वा भरोसाको केन्द्र सरकारले नै हात उठाएको अवस्थामा आफै जोगिएर हिँड्नुको विकल्प देखिँंदैन । भएका कोभिड अस्पतालहरू खाली छैनन् । सङ्क्रमितलाई अस्पताल घुमाउँदा घुमाउँदै ज्यान गइरहेका घटना बारम्बार आइरहेका छन् । यस्तो अवस्थामा चाँडोभन्दा चाँडो अस्पतालहरूको क्षमता बढाउनु पर्ने जरुरी छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै प्रदेश र राजधानीमा गरी हजार शøयाका अस्पताल बनाउने घोषणा गरेका छन् । ढिलै भए पनि अस्पताल बनाउने निर्णय सकारात्मक छ । यो घोषणा निकै अघि आउनु पर्ने थियो । भारतमा कोरोनाले महामारीको रूप लिइरहेकै बेला नेपालमा पनि त्यस्तै अवस्था आउन सक्ने आँकलन गरिएकै थियो । किनकि खुला सिमाना र पारिवारिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्धका कारण बाक्लो आवत–जावत हुने नेपाल र भारतमा सङ्क्रमण फैलिन धेरै समय लाग्दैन भन्ने सबैलाई थाहै थियो । तर, त्यतिबेला सरकारले पूर्व सतर्कतामा ध्यान केन्द्रित गर्न नसकेकै हो । 

राजनीतिक दल र तिनका नेताहरूले फेरि पनि कोरोना महामारी नेपालमा पनि भित्रिँंदै छ भन्ने थाहा पाउँदा पाउँदै पनि सतर्कता अपनाउन नसक्दा अहिले समस्या बढिरहेको छ । महामारीको अवस्थामा आमनागरिकलाई समेत सचेत गर्नुपर्नेमा प्रधानमन्त्री आफैले मूर्ति पूजा गर्न र मन्दिर स्थापना गर्न भीडभाड जम्मा गरे । अन्य राजनीतिक दलहरूले पनि बिना सतर्कता ठूला कार्यक्रम र भीडभाड भेला गरे । अहिले यसरी तीव्र गतिमा कोरोना फैलिनुमा प्रधानमन्त्री, विभिन्न मन्त्रीसँगै सत्तापक्ष तथा विपक्षका राजनीतिक दलहरूको पनि उत्तिकै हात छ । महामारीका बेला जनस्वास्थ्यलाई भन्दा आफ्नो पार्टी र कुर्सी जोगाउने ध्याउन्नमा उनीहरू निर्लिप्त बन्दा कोरोना तीव्र गतिमा फैलियो । स्वयम् सरकार, राजनीतिक दल र नेताहरू नै भीडभाड जम्मा गर्नमा व्यस्त रहेपछि प्रहरी प्रशासन पनि उनीहरूकै सुरक्षामा अघिपछि गर्न व्यस्त रहने नै भए । त्यही मौकामा खुला सीमाको फाइदा उठाउँदै ह्वारह्वार्ती नेपाल भित्रिनेहरूबाट सङ्क्रमण फैलिन धेरै समय नै लागेन । भारतमा कोरोनाबाट मृत्यु भएकाहरूको शव जलाउनसमेत लाइनमा राखिएका तस्बिरहरू सार्वजनिक हुँदै गर्दा नेपालका नेताहरू कुर्सीको हारालुछमा मस्त रहे । त्यसैको परिणाम नेपालमा पनि भारतकै जस्तो गम्भीर अवस्था आउन सक्ने खतरा बढिरहेको छ । यसको जिम्मा प्रधानमन्त्री र ती भीडभाड जम्मा गर्ने नेताहरूले लिनुपर्छ कि पर्दैन ? दल र तिनका नेताहरूले देश र जनताको भविष्यबारे सोच्ने, भावी पुस्तालाई समेत प्रभावकारी हुने गरी नीति बनाउने अपेक्षा हुन्छ । तर, यस्तो सङ्कटका बेला पनि आफ्नै पद र प्रतिष्ठाको चिन्तामा मात्र रुमल्लिनेहरूबाट देश विकासको गति अघि बढ्ला भनेर कसरी कल्पना गर्न सकिन्छ ?

समयमै नसोचेर गल्ती गरिसकेका नेता तथा दलहरूले अहिले सङ्क्रमण फैलिंँदै गर्दा अझै पनि गर्नुपर्ने काम धेरै छन् । यो बेला सरकारले घोषणा गरेको अस्पताल चाँडो तयार गर्न साथ दिनु पर्छ । साथै कुर्सीको मोह र राजनीतिक दाउपेच छाडेर सबै दलहरू सङ्कटको सामना गर्न हातेमालो गरेर जुट्नु पर्छ । सरकार ढाल्ने र सरकार बनाउने दाउपेचलाई केही समयका लागि थाती राखेर सारा देशवासीको हितका लागि स्वास्थ्य, खाद्यान्न, शिक्षा जस्ता कुरामा के कस्ता काम गर्न सकिन्छ भनेर योजना बनाउनु जरुरी छ । त्यसकारण यस्तो संवेदनशील घडीमा झगडा होइन, मिलेर अघि बढ्नु आवश्यक छ ।