लक्ष्मीमार्ग । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचौकमा एक करोड २० लाख रुपैयाँको लगानीमा व्यायामशाला सञ्चालनमा आएको छ । 

व्यायामशाला युवा व्यवसायी दीपक गुरुङ, इन्द्र सापकोटा, कृष्ण दाहाल र कमल पराजुलीले सञ्चालनमा ल्याएका हुन् ।

स्ट्रेन्थ जिम तथा फिटनेस सेण्टर नामको व्यायामशाला नगर प्रमुख शिवप्रसाद ढकाल तथा अर्जुन वर्नवालले संयुक्त रूपमा उद्घाटन गरे । वर्नवाल चौधौं धर्मश्री र दोस्रो बुल्समेन विजेतालगायत हुन् ।

महिला र पुरुष दुवैका लागि प्रयोग गर्न मिल्ने गरी व्यायामशाला सञ्चालन ल्याइएको सञ्चालकहरू बताए । व्यायामशालामा जुम्बा, काडियो, एरोबिक्स अनि आइरन सेटका सबै प्रकारका सामग्री उपलब्ध रहेको सञ्चालकमध्येका एक कृष्ण दाहालले बताए । 

उद्घाटनको अवसरमा विशेष छुटको व्यवस्था गरिएको छ । हाल करिब १ सय सेवाग्राही छन् । जुम्बाका लागि सातजना प्रशिक्षक र थप पाँचजना कर्मचारी रहेका छन् । युवापुस्ताले खोजेअनुसारको सुविधा रहेको दीपक गुरुङले बताए ।

सञ्चालक गुरुङले व्यवसायसँगै नगरको पहिचान राख्न तथा खेलाडी उत्पादन गर्ने उद्देश्य लिइएको बताए । सुन्दरहरैंचा नगरमा यति धेरै लगानीमा पहिलोपटक व्यायामशाला खुलेको हो ।