पार्टी विधान, कार्यक्रम र नेतृत्वप्रति फरक धारणा राख्दै पार्टी विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपा एमाले सुनसरीले निर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । 

एमाले सुनसरीका अध्यक्ष रेबती रमण भण्डारीले धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, वराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका जनप्रतिनिधिलाई पत्र प्राप्त गरेको तीन दिनभित्र पार्टी कार्यालयमा उपस्थित भई स्पष्टीकरण दिन पत्र पठाएका छन् ।  

स्पष्टीकरण सोधिएका जनप्रतिनिधिमा वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगर, धरान– १५ का वडाध्यक्ष नरेश ईवारम, रामधुनी– ५ का वडाध्यक्ष डेगराज फुयाँल, इनरुवा ३ का वडा सदस्य सरोज बराल, इटहरीका कार्यपालिका सदस्य गौरीमान परियार छन् ।   

स्पष्टीकरण पत्रमा ‘स्थानीय तहको सदस्यले राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ३१ बमोजिम ‘पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो उक्त दल त्याग गर्न सक्ने छैन’ भन्ने कानुनी व्यवस्था स्मरण गराइएको छ ।

स्पष्टीकरण पत्रमा जनप्रतिनिधिको गतिविधि, प्राप्त सूचना र प्रमाणका आधारमा राजनीतिक दल सम्बन्धि ऐनको दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम क्रियाकलाप गरी ऐनको दफा ३१ विपरीत दल त्याग गरेको आरोप लगाइएको छ ।

निर्वाचित भएको पदबाट समेत किन पदमूक्त नगर्ने हो सो सम्बन्धमा स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख गरिएको छ ।

जनप्रतिनिधिले पठाइएको स्पष्टीकरण पत्र नबुझेमा वा समयभित्र स्पष्टीकरण नदिएमा स्वतः दल त्याग गरेको मानी सोहीबमोजिम कारबाही अघि बढाइने वा स्थगित गरिने चेतावनी दिइएको छ । 

पत्र नेकपा एमाले केन्द्रीय कार्यालय र प्रदेश कमिटीको कार्यालय विराटनगरलाई बोधार्थ दिइएको छ । 

जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले पार्टी विधानविपरीत गतिविधि गर्ने र फरक दलको अभ्यास गर्ने ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको बताए । 

uml-spastikaran1