धरानस्थित श्याम चोकमा रहेको मनमोहन अधिकारीको शालिकमा माल्यार्पण गर्दै दक्षिण एशियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीको आज २३ औं स्मृति दिवस मनाइएको छ ।
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले मनमोहन अधिकारीको शालिकमा माल्यार्पण गर्दै उनले देखाएको समाजवादको बाटोमा हिंड्नु पर्ने आवश्यक्ता औंल्याए । अधिकारीले समृद्ध नेपाल निर्माणका लागि देखेका सपना आजका कम्युनिष्ट नेतृत्वले पूरा गर्नुपर्ने अभिभारा रहेको बताए ।
मनमोहन अधिकारीको नेतृत्वमा सञ्चालित कम्युनिष्ट सरकारको ९ महिने साशन काललाई नेपाली जनताले स्वर्णिम समयका रुपमा सम्झना गरिहने मुख्यमन्त्री राईले उल्लेख गरे ।
मुख्यमन्त्री राईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मनमोहनको सपना साकार गर्न उनको उत्तराधिकारीका रुपमा समृद्ध नेपाली सुखी नेपालीको चाहाना राखेर देश निर्माणमा अघि बढेको उल्लेख गरे ।
मनमोहन नेतृत्वको सफल गृहमन्त्रीका रुपमा केपी शर्मा ओलीले काम गरेको उल्लेख गर्दै बाँकी रहेका सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ, आफैं बनाऔंलगायतका कार्यक्रमलाई जनमुखी र मूर्तता दिन प्रधानमन्त्री लागिपरेको मुख्यमन्त्री राईले बताए ।
विसं १९७७ सालमा जन्मिएका कम्युनिष्ट नेता अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं १ र ३ नम्बर क्षेत्रबाट उम्मेदवार रहेका अधिकारीको चुनावी कार्यक्रमका शिलशिलामा गोठाटारमा हृदयघात भएको थियो ।
अधिकारीको उपचारका क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो ।
अधिकारी २०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित महासचिव थिए । नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेता अधिकारी लोकतान्त्रिक आन्दोलनका पनि शिखर व्यक्ति थिए ।
२०४७ सालमा मदन भण्डारी नेतृत्वको तत्कालीन नेकपा माले र मनमोहन अधिकारी नेतृत्वको तत्कालिन नेकपा मार्क्सवादी बीच एकीकरण भएर अहिलेको नेकपा एमाले बनेको थियो ।
एमालेको पहिलो अध्यक्ष मनमोहन थिए । २०५१ सालको निर्वाचनमा एमाले ८८ सिट सहित सबैभन्दा ठूलो दल बनेपछि मनमोहन अधिकारी नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री भएका थिए ।
अधिकारी नेतृत्वको ९ महिने एमालेको सरकारले गरेका लोकप्रिय कामका कारण उनलाई सधैं सम्झिने गरिन्छ । कम्युनिस्ट सरकारमा आएमा ६० वर्षमाथिका बुढाबुढीलाई मार्छन् भन्ने प्रचार जनस्तरमा भएका बेला अधिकारी नेतृत्वको सरकारले नेपालको इतिहासमै पहिलो पटक एक सय रुपैयाँबाट वृद्धभत्ता शुरु गरेको थियो ।
मनमोहन प्रधानमन्त्री र उनका भाइ भरतमोहन अर्थमन्त्री भएको बेला शुरु गरिएको जेष्ठ नागरिक भत्ता लगायतका सामाजिक सुरक्षा र लोककल्याणकारी कार्यक्रम त्यसयताका कुनै पनि सरकारले हटाउन सकेनन्, बढाउन बाध्य भए ।
एमालेले १ सय रुपैयाँबाट शुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले ३ हजार पुगेको छ र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षभित्र ५ हजार पु¥याउने घोषणा गरेका छन् ।
अधिकारी नेतृत्वको सरकारविरुद्ध तत्कालीन नेपाली कांग्रेस, राप्रपा र सद्भावना पार्टीले अविश्वास प्रस्ताव ल्याएपछि उनले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।
तर २०५२ भदौ १२ मा सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । भदौ १२ को फैसला निकै पछिसम्म विवादित बनेको थियो ।
त्यसबीचमा हेलिकोप्टर दुर्घटनामा परेर अस्पतालको आइसियुमा रहेकै बेला अधिकारीले अविश्वास प्रस्तावको सामना गरेका थिए ।
अधिकारी नेपालको इतिहासमै सादगी, पारदर्शी र राजनीतिक नैतिकताको अगुवा नेताका रुपमा चिनिन्छन् ।