विजयपुर। धरानका मन्दिरहरूमा स्वास्थ्यका न्यूनतम् मापदण्ड अवलम्बन नगर्दा कोरोना सङ्क्रमणको ‘हटस्पट’ बन्ने खतरा बढेको छ । 

केन्द्रीय सरकारदेखि स्थानीय सरकारले पनि अति आवश्यकीय क्षेत्रमा स्वास्थ्यका मापदण्ड पूरा गरी बढीमा २५ जनासम्म मात्र भेला हुन पाउने नियम लगाएको छ । भारतमा धार्मिक स्थलहरूबाट नै कोरोना सङ्क्रमण बढेको छ ।

सरकारको निर्देशन र कोरोना सङ्क्रमणको जोखिमका कारणले नेपालका ठूला धार्मिकस्थलहरू बन्द हुँदै आएका छन् । कोरोना सङ्क्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द भयो ।

पशुपति, गुह्येश्वरी मन्दिरहरूमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप बन्द भएको छ । प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा पनि नित्य पूजाबाहेक अन्य पूजा बन्द भएको छ । पाथीभरा मन्दिर पनि बन्द भएको छ ।

तर, धरानका बूढासुब्बा, दन्तकाली, पिण्डेश्वरलगायतका मन्दिर बन्द त होइन, न्यूनतम् स्वास्थ्यका मापदण्ड पनि पूरा नगरी भक्तजनहरूको भीडभाड हुने गरेको स्थानीयले बताएका छन् ।

एक स्थानीयले भने, ‘मन्दिर बन्द गर्नुपर्छ भन्ने होइन, जोखिमलाई मध्यनजर गरेर स्वास्थ्यका मापदण्डमा ध्यान दिनुपर्छ । तर, त्यो भएको छैन । जसले गर्दा कोरोनाको हटस्पट बन्न सक्छ ।’ 

स्थानीयले मन्दिर बन्दभन्दा पनि स्वास्थ्यका मापदण्ड अवलम्बन गर्नुपर्ने र नित्य पूजा मात्र गरे जोखिम न्यूनीकरण हुने बताएका छन् । स्थानीय प्रेम पराजुलीले बूढासुब्बा मन्दिरमा भीडभाडले कोरोना बढ्ने भन्दै सम्बन्धित निकायले चासो नदिएको दाबी गरे ।

बूढासुब्बा मन्दिर सम्भार एवम् संरक्षक परिषद्का सचिव उत्तम आलेले मन्दिरमा भीडभाड भएको स्वीकार गर्दै बन्दका लागि सूचना गर्ने तयारीमा रहेको बताए । उनले २ दिनभित्रमा बन्द गर्नका लागि पहल गर्ने बताए । बन्द गर्नका लागि वडा कार्यालय र प्रहरी प्रशासनसँग समन्वय गर्ने योजना रहेको बताए ।

उनले प्रहरी प्रशासनको सहयोग नलिएमा आफूलाई समस्या हुने बताए । उने भने, ‘टाढा–टाढाबाट भक्तजन आएका हुन्छन्, पूजा गरिदिएन भने आफूसँग नराम्रो गर्छन् ।’ दन्तकाली मन्दिरका पुजारी विश्वराज खनाल आफूलाई प्रशासन र वडा कार्यालयलाई सोध्दासमेत जानकारी नदिएकाले मन्दिर खुल्लै रहेको बताउँछन् । उनले आफैले भक्तजनलाई भने भित्र प्रवेश गर्न नदिएको बताए । उनले भने, ‘स्वास्थ्यका मापदण्ड पु¥याएर गर्न खोज्छौ के गर्नु मान्छे हो, नियन्त्रण गर्न सकिएन ।’

पिण्डेश्वर मन्दिरका पुजारी विनोद पोखरेलले माथिबाट औपचारिक जानकारी नआएकाले खुल्ला राखेको बताए । उनले भने, ‘मन्दिरमा आउने मान्छेलाई नआऊ भन्न सक्दैनौं, मास्क नलगाई आउने मान्छेलाई प्रवेश गर्न दिएका छैनौँ ।’  उनले जानकारी आउना साथ बन्द गर्ने बताए । 

चाँडै सूचना गरेर भक्तजनका लागि बन्द गरी नित्य पूजा मात्र गर्ने उनले बताए । धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले सबै भीडभाड न्यूनीकरणमा लाग्नुपर्ने भन्दै मन्दिर समितिले स्वास्थ्यलाई ध्यान दिनुपर्ने बताइन् । सबै मन्दिरमा नित्य पूजा मात्र गर्ने गरी बन्द गर्न पहल गर्ने भण्डारीले बताइन् ।

यता जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख उमेशकुमार ढकालले शुक्रबार मात्रै उपमहानगरसँग गरेको छलफलमा यस विषयमा कुरा नउठेको बताए । उनले स्थानीयको गुनासो आएको बताए । पशुपति पनि व्यवस्थापन समितिले नै बन्द गरेकाले सुनसरीका मठमन्दिर पनि मन्दिर व्यवस्थापन समितिले बन्द गरे राम्रो हुने बताए ।

उनले केही दिन समीक्षा गर्ने, स्थानीय सरकारसँग छलफल गर्ने र आवश्यक परे हस्तक्षेप गर्ने बताए । उनले भने, ‘स्थानीय सरकार, व्यवस्थापन समितिले गरे राम्रो हुन्छ, हामीले हस्तक्षेप गर्नुपरेमा गरिहाल्छौँ ।’