विजयपुर। चलचित्र पत्रकार सङ्घ सुनसरीको आयोजनामा सञ्चालित तीनदिने चलचित्र पत्रकारिता कार्यशाला बुधबार सम्पन्न भएको छ ।

सोमबारदेखि भेडेटार भिलेज रिसोर्टमा सञ्चालित कार्यशालामा चलचित्र पत्रकारिता र चलचित्रको अवस्था, आधारभूत पत्रकारिता, मिडिया कानून, अन्तरवार्ता र पापाराजी, अनलाइन पत्रकारिता र विज्ञापनको बजार, स्टोरी लेखन, फिल्म समीक्षा, पत्रकारलगतायतबारे प्रशिक्षण दिइएको अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिए ।

तालिममा फिल्म निर्देशक दीपेन्द्र लामा, चलचित्र पत्रकार समिर बलामी र पत्रकार तथा निर्देशक भीषण राईले सहजीकरण गरेका थिए । तालिम सैद्धान्तिक मात्र नभई व्यावहारिक भएको सहभागी तुलसीप्रसाद निरौलाले बताए ।

अर्की सहभागी सीमा बस्नेतले चलचित्र पत्रकारिताका विषयमा मात्र नभई कला, साहित्य, पर्यटनसँग जोड्न सकिनेबारे पनि जानकारी पाएको बताइन् ।

तालिममा २५ जना सहभागी भएको उपाध्यक्ष मनोज दाहालले जानकारी दिए । समापन कार्यक्रममा चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरूणकुमार प्रधान, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतको उपस्थिति रहेको थियो ।