नेकपा एमालेका २७ सांसदलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि एमालेबाट निलम्बनमा परेका माधव नेपालसहितका चार नेताले कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

दर्ता रिटमा नेकपा एमालेबाट निलम्बनमा परेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गरेका छन् । 

माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्तरूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको सर्वोच्चले जनाएको छ ।

रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निस्कासन गर्न खोजेको उल्लेख छ ।

वैकल्पिक उपचार नभएपछि रिट दायर गरिएको समेत उल्लेख छ ।