बेलबारी । मोरङको बेलबारीमा प्रदेश स्तरीय प्रथम बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहिबारबाट शुरु भएको छ ।

बेलबारीको लक्ष्मीमार्ग स्थित कवर्डहलमा सुरुभएको प्रतियोगीतामा नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले टुर्नामेन्टका रेफ्री सुमित शाक्यलाई ब्याडमिन्टन कर्क हस्तान्तरण गरेर उदघाटन गरेका छन् ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका गरी ८६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता बेलबारी नगरपालिकाको बिशेष आर्थिक सहयोगमा सञ्चालन भएको हो ।

उक्त प्रतियोगिताको प्रथम टिमले नगद ३१ हजार, दोस्रोले २१ हजार र तेस्रोले ११ हजारसहित मेडल र  ट्रफि पाउनेछन् ।

ब्याडमिन्टन खेलका माध्यमबाट बेलबारी नगरपालिकाको पहिचानलाई नेपालका सबै प्रदेश र ७७ जिल्लामा पुयाउने उद्देश्यले प्रथम बेलबारी मेयर कप खुल्ला, भ्याट्रान र अन्तर सदस्यीय व्याडमिन्टन प्रतियोगिता सञ्चालन गरी देशैभरिका पालिकाहरुमा यस खेलको महत्वको बारेमा सन्देश पुर्याउने उद्देश्य रहेको  आयोजक संस्थाका अध्यक्ष बलबहादुर मगरले बताए ।

प्रतियोगिताका संयोजक माधवराज थापाले यस प्रतियोगिताले बेलबारीलाई प्रदेशभरी मात्र नभएर देश तथा बिदेशमा चिनाउन र बेलबारी समेत ब्याडमिन्टनका क्षेत्रमा अब्बल छ भन्ने देखाउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।