प्रदेश २ को नाम जानकी र राजधानी जनकपुरधाम तोक्न नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ ।

एमालेका संसदीय दलका नेता शत्रुधन महतोले आज उक्त प्रस्ताव दर्ता गराएका छन् । पार्टीको निर्णय बमोजिम प्रस्ताव दर्ता गराएको एमाले सांसद प्रमोद यादवले जानकारी दिए ।

यसअघि पनि एमालेले प्रदेशको नाम जानकी र राजधानी जनकपुरधाम प्रस्ताव नै दर्ता गराएको थियो ।

नेपाली कांग्रेसले भने अहिलेसम्म प्रदेशको राजधानी र नामका विषयमा प्रस्ताव दर्ता गराएको छैन । प्रदेशको नाम मिथिला–भोजपुरा र राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराउने पक्षमा छ । 

सतत्तारूढ जसपा र नेकपा माओवादी केन्द्रले भने प्रदेशको नाम मधेस र राजधानी जनकपुरधामलाई तोक्न अलग–अलग प्रस्ताव दर्ता गराएका छन् ।

सत्तारूढ जसपाका ५५, माओवादी केन्द्रका ७, एमालेका २१, कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सांसद छन् ।

प्रस्ताव पारित गराउन १०३ सांसदको दुईतिहाई ६९ सांसद चाहिन्छ । सत्तारूढ जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ पुग्छ । मधेस प्रदेश पारित गर्न अझै ७ सांसद आवश्यक पर्छ ।