नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको विषयलगायतको छलफलका लागि बैठक सुरु भएको छ । 

माधव नेपाल पक्षको स्थायी समिति बैठक बुद्धनगरमा सुरु भएको छ । स्पष्टीकरणका विषयमा छलफल गर्न स्थायी समितिको बैठक डाकिएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका थिए ।  

नेपाली राजनीतिक वृत्तमा यतिबेला नेकपा एमाले विभाजनको संघारमा पुगेको विश्लेषण भइरहेको छ । 

नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा एमालेको चुनाव चिह्न र झण्डा दुरुपयोग गरेको ओली पक्षको आरोप छ । 

मंगलबार २ दिने समय सीमासहित ओलीले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेका थिए । 

स्पष्टीकरणलगायतका विषयमा छलफल चलिरहेको संघीय सांसद् जयकुमार राईले जानकारी दिए । उनले अगाडि के गर्ने कानून व्यवसायीसँगको छलफलपछि स्पष्टीकरण विरुद्ध मुद्दा दायर गर्ने वा नगर्ने विषयमा निर्णय भइनसकेको बताए ।

‘हामी पार्टीलाई विभाजनतर्फ होइन, एक बनाएर लाने पक्षमा छौं’ सांसद् राईले भने, ‘छलफल चलिरहेको छ, निर्णयमा पुग्न बाँकी छ ।’