बिर्तामोड/विवादास्पद ट्रायल सेन्टरको अनुगमन गर्न पुगेका प्रदेश नम्बर १ का भौतिक पुर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङमाथि मंगलबार झापाका स्थानीय एमाले नेता नै खनिएका छन् । 

सरकारी संरचना हुँदाहुँदै निजी क्षेत्रले निर्माण गरेको ट्रायल सेन्टरमा ट्रायल गर्न अनुमति दिएको भन्दै स्थानीय एमाले नेता खनिएका हुन् । एमालेका जिल्ला नेता दुर्गा सिग्देलले मन्त्री गुरुङलाई ब्यवसायीको आर्थिक प्रभावमा परेर निजी क्षेत्रलाई ट्रायल सेन्टरको जिम्मा दिने निर्णय गरेको आरोप लगाए । उनले मन्त्रीमाथि औला तेस्र्याउदै भने–‘केटाकेटी कुरा नगर्नुस, तपाईँभन्दा दुई, चारवटा भोटो बढी फटाएको हुँला, तर तपाईँले एकजनाको हितका लागि हजारौलाई समस्यामा पार्ने काम गर्दै हुनुहुन्छ ।’ 

बिर्तामोड नगरपालिका–२ का अध्यक्ष नगेन्द्र संग्रौलाले कसलाई सोधेर ट्रायल सेन्टर निजी क्षेत्रमा सार्न निर्णय गरेको ? भन्दै आक्रोस पोखेका छन् । उनले एउटा कल्भर्ट सार्न टोल विकास समितिको सिफारिस चाहिने समयमा त्यत्रो संरचना सार्न स्थानीय तहलाई किन जानकारी नगराएको भन्दै मन्त्रीमाथि खनिए । बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटीले जनताको अभिमत ट्रायल सेन्टर सार्ने नरहेको बताए । ट्रायल सेन्टर बचाउ अभियानका संयोजक विकास रिजालले एक ब्यक्तिलाई लाईसेन्स बिक्री गर्ने पसल सञ्चालन गर्न मन्त्री आफै सक्रिय हुनु रहस्यमय भएको बताए । 

प्रदेशसभाले ‘सरकारी ट्रायल सेन्टर नभएको जिल्लामा निजी क्षेत्रका ब्यवसायीले तयार गरेको संरचनामा ट्रायल गर्न अनुमति दिने’ निर्णय गरेको बुझिएको छ ।