सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पास गरेको छ । 

प्रतिवेदनमा नेकपाको तीन वर्षे कार्यकालको समीक्षा गरिएको छ । 

सर्वोच्च अदालतले कानूनी हिसाबले पार्टी एकता टुंग्याएको भए पनि राजनीतिक र संगठनात्मक रुपमा पहिल्यै विभाजित भएको प्रतिवेदनमा उल्लेख छ ।

पार्टी एकीकरणको मनसाय सही भए पनि केही गलत प्रवृत्ति र पात्रहरुका कारण एकीकरण असफल भएको ओलीको प्रतिवेदनको निष्कर्ष छ ।

सरकारको कामको समीक्षा गर्दै प्रतिवेदनमा धेरै प्रतिकूलताका बाबजुद महत्वपूर्ण उपलब्धी हासिल भएको उल्लेख गरिएको छ । 

UML-kendra-Baithak

बैठकले संठनात्मक प्रतिवेदन पास गरेको छ । साउनमा विधान सम्मेलन गर्ने कार्यतालिका छ । जेठ मसान्तभित्र सबै कमिटीलाई पुनर्गठन गरिसक्ने, असारमा सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा–पालिका र जिल्ला तथा असोजमा प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनेको छ । 

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार पार्टी निर्माण तथा शुद्धीकरण र समृद्धिको अभियानलाई तीव्रता दिने पार्टीको आगामी कार्यभार भएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा जुनसुकै समयमा निर्वाचनमा जानुपर्ने अवस्था आउने उल्लेख छ । पार्टीमा विभाजनकारी गतिविधि बन्द गर्न र पार्टी एकतामा आउन आह्वान गर्ने भनिएको छ ।