नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादललाई पार्टीबाट निस्काशन गरेपछि आज उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ ।
राष्ट्रिय सभा सचिवालयले राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेपछि गृहमन्त्री रामबहादुर थापा (बादल) पदमुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्काशन गरेको पत्र गत चैत २७ गते राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।
राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तर्फबाट बादललाई गृहमन्त्रीमै पुनःनियुक्ति गरेका छन् ।
बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने कार्यक्रम छ । आजै सपथग्रहणको समय तय भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सर्वोच्च अदालतले एमाले र माओवादी पूर्ववत् रहेको फैसला सुनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेका नेता बादल माओवादीमा गएका थिएनन् ।
गृहमन्त्री बादल बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रधानमन्त्री ओलीको समर्थन गरेका प्रतिनिधिसभाका चार सदस्य र प्रदेश सभा सदस्यहरुलाई पार्टीबाट निस्काशन गरी माओवादीले पद रिक्त गराएको छ । उनीहरुले अब नेकपा एमालेबाट नेतृत्व गर्ने छन् ।