धरान । ओली निकट अनेरास्ववियू धरान नगर कमिटीले आयोजना गरेको लोकसेवा तयारी कक्षा शनिबार सम्पन्न भएको छ । 

विद्यार्थीहरूको पढाइ पूरा भएपछि सरकारी जागिरमा सेवा गर्न चाहनेलाई लक्षित गर्दै तयारी कक्षाको आयोजना गरिएको हो । चैत २८ गतेदेखि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रमको समापन भने धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) मा गरिएको नगर अध्यक्ष अदितश्री अधिकारीले जानकारी दिए । 

तालिममा विभिन्न क्याम्पसका विद्यार्थीहरू सहभागी रहेका थिए । लोकसेवा तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरूबारे जानकारी गराइएको थियो । तालिमको समापनमा अनेरास्ववियुका केन्द्रीय कार्यालय सदस्य आरसी लामिछाने, नेकपा एमालेका केन्द्रीय सदस्य मुरारी सुवेदी, मोतीराज सुनुवारलगायतले बोलेका थिए । उनीहरूले यस्ता तयारी कक्षाबाट विद्यार्थीहरूलाई लोकसेवा दिन सहज बनाउने बताएका थिए ।