राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सङ्घीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनले कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा राप्रपा रहेको उल्लेख गरेका छन् ।
राप्रपा झापा एकता जिल्ला अधिवेशनको शनिबार बिर्तामोडमा उद्घाटन गर्दै नेता लिङ्देनले ती दुवै पार्टी आपसी लडाइँ र झगडामा व्यस्त भएको हुदाँ अहिलेको समय राप्रपाका लागि उर्वर रहेको धारणा राखे ।
कम्युनिष्ट र कांग्रेस वैचारिक रुपमा एक भए पनि व्यवहारिक रुपमा माथिदेखि तलसम्म भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । राप्रपा एकजुट भएर स्थानीयदेखि केन्द्रसम्म सङ्गठन मजबुद बनाएर आउने निर्वाचनमा सफलता हासिल गर्न तत्काल गतिविधि शुरु गर्न उनले निर्देशन दिए ।
एक वर्ष अघि संसदमा उठाएको कांगे्रस र कम्युनिस्टको खतराको विषयमा अहिले आएर कठै भन्नु बाहेक केही नभएको लिङ्देनले बताए । कांग्रेस ३० वर्षदेखि पटक–पटक देशका लागि असफल सावित भइसकेको छ भने वर्तमान दुईतिहाइको सरकार पाँच वर्षसम्म पनि नटिक्ने उनले उल्लेख गरे ।
देश लुट्ने ठाउँमा यी दुई पार्टी रहेको उनले आरोप लगाए । राप्रपाले उठाउँदै आएका एजेण्डा अब पूरा हुने सङ्केत देखिएको उनको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य, रोशन कार्की ममता राई, विश्वमन थापा, सुशिला बस्नेत, वासुदेव भट्टराई, नगर अध्यक्षको तर्फबाट रञ्जु प्याकुरेल, पालिकाको तर्फबाट अञ्जरा आलम, बाबुराजा श्रेष्ठ, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, प्रदेश १ का अध्यक्ष राम थापा, प्रदेश १ का सहअध्यक्ष सगुन लावती, पूर्व पूर्वमन्त्री टेकनारायण राजवंशी, पार्टीका संस्थापक जिल्ला अध्यक्ष रोहितकुमार सिं राजवंशी लगायतले बोलेका थिए ।
अध्यक्ष अम्बरबहादुर विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर, जिल्ला, क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा पार्टीलाई उच्च योगदान पुर्याए वापत् संस्थापक अध्यक्ष राजवंशीलाई सम्मान गरिएको थियो । विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका थिए । अधिवेशनले पार्टीकोे जिल्लामा नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।