आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने आशा गरिएको छ । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीको समाचारअनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणा गर्न गइरहेका छन् । 

गत वर्ष तालिबान र ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आगामी मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो । आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ ।

तालिबानलाई चेतावनी

राष्ट्रपति बाइडनले पहिले मे १ तारिखको समयसीमामा सैनिकहरू फिर्ता गर्ने कार्य सक्न कठिन हुने बताएका थिए ।

अमेरिकी र नेटो अधिकारीहरूले तालिबानले सम्झौताअनुसार हिंसा कम गर्न गरेको बाचा अहिलेसम्म पूरा नगरेको बताएका छन् ।

सञ्चारमाध्यमसँग कुरा गर्दै एकजना वरिष्ठ अधिकारीले यदि सैन्य फिर्तीका क्रममा तालिबानले अमेरिकी सैनिकमाथि हमला गरेमा त्यसको कडा प्रतिउत्तर दिने चेतावनी दिए ।

ती अधिकारीका अनुसार बाइडनले हतारमा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्नु खतरनाक पनि हुनसक्ने ठानेका छन् ।

बुधबार राष्ट्रपतिको घोषणा

अफगानिस्तानबाट सेना फिर्ता गर्नेबारे राष्ट्रपति बाइडनले बुधवार स्वयम् घोषणा गर्नेछन् ।

अमेरिकी नेतृत्वमा यसै महिनाको अन्त्यमा टर्कीमा हुन लागेको शान्ति सम्मेलनमा अफगान सरकार र तालिबान सहभागी हुने खबर आएको केही घण्टामै अमेरिकाले सैन्य फिर्तीको घोषणा गरेको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोयड अस्टिनले बुधबार बेल्जियमको राजधानी ब्रसल्समा उक्त निर्णयबारे नेटो सदस्य राष्ट्रहरूलाई जानकारी दिनेछन् ।

अफगानिस्तानमा २० वर्षदेखि जारी युद्धमा दुई हजारभन्दा बढी अमेरिकी सैनिकहरू मारिइसकेका छन् ।

अमेरिकाको यो सबैभन्दा लामो लडाइँमा कैयौँ खर्ब डलर रकम खर्च गरिसकेको छ ।

सम्झौता

गत वर्ष तालिबान र अमेरिकाबीच एउटा सम्झौता भएको थियो ।

त्यस अनुसार तालिबानले हिंसा रोकेको चौध महिनाभित्र अमेरिकाले आफ्ना सबै सेनाहरू फिर्ता बोलाउनुपर्ने थियो । तालिबान र अफगानिस्तानको सरकारबीच वार्ता चलिहरेको छ ।

तर अहिलेसम्म कुनै सम्झौता हुन सकेको छैन । तालिबानले सरकारसँग आफ्ना हज्जारौँ लडाकुको रिहाइको माग राखेको छ ।

तालिबानले विदेशी सुरक्षा फौजमाथिको हमला रोके पनि अफगानी सुरक्षाकर्मीमाथि हमला जारी राखेको छ ।

गत महिना तालिबानले मे १ तारिखपछि विदेशी सैनिकमाथि पनि हमला सुरु गर्ने चेतावनी दिएको थियो ।

दीर्घकालीन सम्झौता नभइकन विदेशी सैनिक फिर्ता जाँदा अफगानिस्तानमा तालिबानले फेरि सत्ता कब्जा गर्नसक्ने आशङ्काहरू व्यक्त भइरहेका छन् ।

हाल अफगानिस्तानमा नेटकोका करिब ९,६०० सैनिकहरू रहेका छन् त्यसमा २,५०० अमेरिकी सैनिक छन् ।

- बीबीसी