प्रतिपक्षी दलहरुको अवरोधका कारण आज बोलाइएको प्रदेश १ को प्रदेश सभा बैठक बस्न सकेन ।
प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक ५ गतेसम्मका लागि स्थगित भएको छ ।
यस अघि मुख्यमन्त्री शेरधन राईले प्रतिपक्षी लगायत दलसँग मुख्यमन्त्रीको कार्यालयमा छलफल गरेका थिए । छलफलमा विपक्षीको माग पूरा गर्ने विषयमा छलफल भएको थियो । विपक्षीले आफ्ना माग पूरा गर्ने सुनिश्चितता भएमात्र सदन चल्न दिने अडान लिएका थिए ।
मुख्यमन्त्री राईले सदनमा विपक्षीको मागसम्बोधन गर्ने गरी जवाफ दिने बताएका थिए । तर, माग पूरा गर्ने सुनिश्चित नभएपछि विपक्षी दलले सदन अवरुद्ध गरेको जनता समाजवादी पार्टीका नेता जयराम यादवले बताए । ‘माग पूरा हुनुपर्यो नि, उधारोमा कसरी हुन्छ ?’ नेता यादवले भने, ‘माग पूरा हुने सुनिश्चितता नगरेसम्म सदन चल्न दिंदैनौं ।’
चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रम सञ्चालन गर्न र वहुवर्षे विकास आयोजनालाई निरन्तरता दिन विपक्षीले माग गर्दै आएका छन् । प्रदेश सरकारले बजेट अभावको कारण देखाएर आयोजना रोकिरहेको विपक्षीको आरोप छ ।
यस अघि संसद सचिवालयले प्रदेश सभा बैठक दिउँसो १ बजे बस्ने बताएको थियो ।
आइतबार विपक्षी दलको अवरोध खुलाउनेबारे प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बैठक आयोजना गरेका थिए ।
बैठकमा एमाले संसदीय दलका नेता समेत रहेको मुख्यमन्त्री शेरधन राई अनुपस्थित भए । मुख्यमन्त्रीको अनुपस्थितिमा मुख्य विषयमा प्रवेश नै नगरी बैठक सकिएको थियो ।
सोमबार बिहान मुख्यमन्त्री शेरधन राईले आफैं नै विपक्षीसहितका दलको बैठक डाकेर गतिरोध अन्त्य गर्ने बारे छलफल गरेका थिए ।
छलफल चित्त बुझ्दो नभएपछि प्रतिपक्षी दलले आज पुनः संसद अवरोध गरेका छन् । प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक ०७८ वैशाख ५ गतेसम्मका लागि स्थगित भएको छ ।