धरान । जनता समाजवादी पार्टीको साँगुरीगढी गाउँ समितिले विभिन्न माग राख्दै आन्दोलनको चेतावनी दिएको छ ।

आईतबार साँगुरीगढी गाउँपालिका वडा नं.६मा ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै पार्टीले आन्दोलनका चेतावनी दिएको हो । ज्ञापनपत्रमा पर्यटकीय क्षेत्र भेडेटारमा गाउँपालिकाले फोहोरमैला व्यवस्थापनको काम नगरेकाले अबिलम्ब व्यवस्थापन गर्न माग गरिएको छ । त्यसैगरी भेडेटारमा यातायातका साधनको चाप बढेसँगै पार्किङको समस्या रहेकाले गाउँपालिका र वडाले पार्किङको व्यवस्था गर्नुपर्ने, लेउती जलाधार क्षेत्रबाट बाह्रै महिना ढुङ्गा गिटी संकलन तथा निकासीको व्यवस्था गर्न, चौमासीक रुपमा सर्वदलिय, सर्वपक्षिय सार्वजनिक सुनुवाई गर्न, सामाजिक संघ संस्थाहरुमा राजनीतिकरण गरी आफ्नो दलकालाई मात्र अवसर प्रदान गर्ने गरिएकाले त्यस्तो प्रचलन हटाउन र बजेटमा मनखुसी गरेको भन्दै त्यसलाई सरोकारवाला मार्फत विनियोजन गर्न माग गरिएको छ ।

पार्टीका गाउँ समिति अध्यक्ष लिलाराज लावतीले स्थानीय सरकार रचनात्मक, पारदर्शी र ठोस योजनासहित अघि बढ्न नसकेकाले ज्ञापनपत्र बुझाएको बताए ।

आइतबार अध्यक्ष लावती, समाजवादी युवा संघका गाउँपालिका अध्यक्ष यमन सुब्बा, जिल्ला सदस्य टिका घिमिरे, पार्टीको जिल्ला सदस्य दिपक घिमिरे, पार्टीको गाउँपालिका सदस्य आशिष राई लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको थियो ।