मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंक गणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

प्रधानमन्त्री ओलीले राजनीतिमा देखिएका सकुनीहरुले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोजेको बताए । 

‘मलाई सरकार जान्छ कि भन्ने कुनै पिर छैन, पहिले पनि म सरकारबाट हटाइएको हुँ, फेरि जनताले ल्याए, प्रम ओलीले भने, ‘केही छैन १८–२० महिना होला, त्यसपछि फेरि यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याँकिने छन् ।’

ओलीले थपे, ‘गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?’

शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको बताए । 

सरकार परिवर्तन गर्नेलाई प्रम ओलीको प्रश्न

प्रधानमन्त्री ओलीले सरकार परिर्वतनका प्रयासहरु भइरहेको बताउँदै सरकार परिवर्तन गर्न खोज्नेलाई प्रश्न गरेका छन् । 

प्रम ओलीले भने, ‘सरकार परिर्वतन गर्न खोज्नेहरुलाई मैले सोध्ने गरेको छु – 

सरकार किन परिर्वतन गर्नुपर्यो ? पुर्ननिर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् ? हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी सिलान्यास गर्यौं, धमाधम बन्दैछन् । त्यसकारणले हो ? 

१ सय ६५ वटा बाटाहरु एकैपटक शिलन्यास गर्यौं र बन्दैछन् । त्यस कारणले हो ? 

एकहप्ताभित्र देश भित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्यौं । त्यसकारणले हो ?’ 

प्रधानमन्त्री ओलीले भने, ‘यो भन्दा बढी त लखनौको एक्काको घोडाले पनि देख्छ । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।’