गुटगत राजनीति चलाईरहेका भएका नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपाललाई एकपछि अर्को धक्का लाग्दै गएको छ । सो गुटका केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले माधवकुमार नेपालको साथ छाडेका छन् ।
मिश्रलाई खनाल–नेपाल समूहले भक्तपुरको इन्चार्ज बनाए लगत्तै उनले नेपालनिकट नेताहरूलाई फोन गरेर आफू उक्त गुटको नेता नभएको र पार्टीकै इन्चार्ज बन्ने बताएका थिए । एमालेमा उनी सहइन्चार्जको भूमिकामा रहेका छन् ।
महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री तथा संगठन विभाग प्रमुख बिष्णु पौडेल र केन्द्रीय सदस्य महेश बस्नेत लगायतका नेताहरुसँग छलफलपछि मिश्रले नेपाल पक्षको साथ छाड्ने बताएका छन् । उनले समानान्तर कमिटीहरु गठन गरेर पार्टी विभाजनलाई मलजन गर्ने भएकोले साेको पक्षमा उभिन नसकिने प्रतिक्रिया दिएका छन्।
“नेपाल समूहप्रति उहाँको असन्तुष्टि थियो । मलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले निकालेका छैनन् । म एमालेकै नेता हुँ । मलाई गुटको इन्चार्ज बनाएकामा आपत्ति छ भनेर असन्तुष्टि पोख्नुभएको थियो,” स्रोतले भन्यो ।
यसअघि बुधबारमात्रै धादिङका प्रदेशसभा सदस्य डा.रामहरी अधिकारी र संविधानसभा सदस्य धनबहादुर घलेले नेपाल पक्षको समानान्तर कमिटीबाट अलग रहेको विज्ञप्ति निकालेका थिए ।