विजयपुर/ विराट गोल्डकप प्रतियोगिताको छैटौँ संस्करणका लागि सम्पुर्ण तयारी पुरा भएको छ ।

प्रतियोगिताका लागि मैदान स्तरोन्नति, व्यवस्थापनदेखि लिएर सहभागी टिम यकिन लगायत सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । विराटनगरको सहिद रङ्गशालामा आज (बिहीबार) देखि वैशाख ४ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विदेशी ३ सहित्१० टिमको सहभागिता हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए ।

विदेशी टिममा भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस र अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम रहेका छन् । नेपाली टिममा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपीएफ), विराटनगर– ११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब र सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब रहेका छन्  । उद्घाटन खेलमा विराटनगर–११ र सिक्किम युनाइटेट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विराट गोल्डकप ट्रष्टको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा रात्रिकालीन प्रतियोगिता आयोजना हुँने भएको छ । रातको समयमा दर्शकको उल्लेख्य उपस्थिति रहने भएकाले रात्रिकालीन प्रतियोगिता आयोजना गरेको संयोजक शाहले जानकारी दिए  । शाहले दर्शकका लागि दिनभरको कामको बोझ, तनाव र थकान मेट्ने आधार गोल्डकप बन्ने बताए ।

प्रतियोगिताको पुरस्कार राशि बढाएर १५ लाख १५ हजार रुपैयाँ पुर्याएको ट्रष्टका अध्यक्ष सन्तोष वानियाका बताए । प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्राफी पाउने छ । उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउन छ । यसअघि २०७४ सालमा सम्पन्न प्रतियोगितामा विजेतालाई १२ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

यसवर्ष तीन लाख १५ हजार रुपैयाँ बढाइएको हो । प्रतियोगितामा विभिन्न ७ वटा विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने वानियाले बताए । उनले प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने बताए । उनले सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्राप्त गर्ने बताए ।

प्रतियोगितामा सहभागी टिमलाई सुविधावापत प्रि–क्वाटर खेल्दै गर्दा ३० हजार, क्वाटरफाइनलमा ५० हजार र सेमिफाइनलमा ७५ हजार रुपैयाँ प्रदान गरिने संयोजक शाहले जानकारी दिए ।

पछिल्लो पटक २०७४ सालमा अस्थायी फ्लडलाइट जडान गरेर डे–नाइट (दिवा तथा रात्रिकालीन) प्रतियोगिता आयोजना गरियो । २०७५ र २०७६ सालमा प्रतियोगिता भएन । २०७५ मा कसैले प्रतियोगिता सञ्चालनको जिम्मै लिएनन् भने २०७६ मा कोरोना महामारी गोल्डकप प्रतियोगिता रोकिएको थियो । प्रतियोगिता उद्घाटन मुख्य मन्त्री शेरधन राईले गर्नेछ ।