पूर्वी मोरङको उर्लाबारी–४ मा अवस्थित उर्लाबारी बहुमुखी क्याम्पस पछिल्लो समयमा विद्यार्थी आकर्षणको केन्द्र बन्दै गएको छ । २०४३ साल साउन १८ गते पञ्चायत रजत जयन्ती क्याम्पसको नामबाट स्थापना भएको उर्लाबारी क्याम्पसमा पछिल्लो समय विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढ्न थालेको हो । क्याम्पसमा पछिल्लो २ महिनाको अवधिमा मात्रै स्नातक तह (बि.बि.एस., बि.एड. र बि.ए.) प्रथम वर्षमा २ सयभन्दा बढी विद्यार्थीले भर्ना गरेका छन् भने कयौँ विद्यार्थी भर्ना हुने क्रममा छन् ।

विद्यार्थी आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा यस सामुदायिक क्याम्पसले द्रूत गतिमा भौतिक व्यवस्थापनको कार्यलाई अगाडि बढाएको छ । यसैले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त ४० लाखसहित ९० लाख लागतमा सुविधासम्पन्न ३ तले पक्की भवन निर्माण कार्य धमाधम अघि बढेको सहायक क्याम्पस प्रमुख खेमराज कार्कीले जानकारी दिनुभयो ।

सहायक क्याम्पस प्रमुख कार्कीका अनुसार छिटोछरितो रूपमा कक्षाकोठा मिलाउनका लागि अस्थायी पठनकक्षको समेत व्यवस्था गरिएको छ । यस्तै पुराना कोठाको मर्मतसम्भार गरेर पनि नयाँ भवन नबनुन्जेलसम्म वैकल्पिक तवरबाट अविच्छिन्नरूपमा पठन–पाठन अघि बढिरहेको उहाँको भनाइ छ । 

क्याम्पसमा हाल कक्षा ११, १२ सहित स्नातक र स्नातकोत्तर तहको पढाइ हुँदै आएको छ । कक्षा ११, १२ मा मानविकी, व्यवस्थापन र शिक्षा समूह विषय पढाइ हुँदै छ भने ४ वर्र्षे स्नातक तहअन्तर्गत बि.ए., बि.एड. र बि.बि.एस.को पढाइ भइरहेको छ । स्नातकोत्तर तह एम.ए.तर्फ ग्रामीण विकास र एम.एड.तर्फ नेपाली, अङ्ग्रेजी, जनसङ्ख्या, पाठ्यक्रम र मूल्याङ्कन विषय पठन–पाठन हुँदै आएको स्नातकोत्तर कार्यक्रम संयोजक भीष्मकुमारी रेग्मीले जानकारी दिनुभयो ।

संयोजक रेग्मीका अनुसार स्नातकोत्तर तह एम.एम.मा ग्रामीण विकास विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या काठमाडौँबाहिर सबैभन्दा बढी उर्लाबारी बहुमुखी क्याम्पसमा छ । बर्सेनि ५० जनाको हाराहारीमा ग्रामीण विकास विषयमा एम.ए. पढ्न आउने विद्यार्थीको सङ्ख्याले केही वर्षअघिबाटै मोफसलमै सबैभन्दा बढी विद्यार्थी भएको क्याम्पस ठह¥याउँछ । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू हुनुभन्दा अघि वार्षिक प्रणालीमा त झन् बढी विद्यार्थी पढ्दै थिए । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू हुँदा देशभरमै विद्यार्थीको सङ्ख्या घट्दा पनि यस क्याम्पसमा भने स्थिर देखिनुले विद्यार्थीको रोजाइभित्र क्याम्पस पर्न सफल भएको पुष्टि गर्दछ । 

यस क्याम्पसको प्रमुख सेवा क्षेत्रमा उर्लाबारी नगरपालिका परे तापनि उत्तरी भागका मधुमल्ला, तोरीबारी, टाँडी, जाँते, रमिते, वारङ्गी तथा केराबारी क्षेत्रका विद्यार्थी यहाँ पढ्न आउने गरेका छन् । यसैगरी दक्षिणी क्षेत्रमा राजघाट, आम्बाडी, भौँडा, इटहरा, सिजुवा, सौँठा र बरडङ्गाका विद्यार्थीले उच्च शिक्षा आर्जन गरिरहेका छन् भने झापाको पश्चिमी क्षेत्र ताराबारी र यसको उत्तरी भाग, पश्चिम–दक्षिणी क्षेत्रमा पथरीशनिश्चरे, हसन्दह र अमरदहका केही विद्यार्थी पनि यहाँ पढ्न आउने गरेका छन् । क्याम्पसमा धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र भोजपुरजस्ता पहाडी जिल्लाका विद्यार्थीको समेत राम्रै उपस्थिति पाइन्छ ।

पूर्वी क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गर्ने गुणस्तर सुनिश्चितताको प्रत्यायन (क्युएए)को लागि आसय पत्र बुझाएर स्वमूल्याङ्कन प्रतिवेदन (SSR) सकी विश्वविद्यालय अनुदान आयोगबाट पहिलो चरणको भेट (Pre-visit) समेत सकाएको छ । पहिलो पटक भएको भ्रमण दलले दिएको सुझाव कार्यान्वयन गरी क्युएए प्राप्त गर्ने प्रक्रियामा पुनः स्वमूल्याङ्कन प्रतिवेदनलाई संशोधनसहित विश्वविद्यालय अनुदान आयोगमा बुझाउने तयारी भइरहेको क्याम्पस प्रमुख बेधराज भट्टराईले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख भट्टराईका अनुसार क्युएए प्राप्त गर्न बृहत् दीर्घकालीन योजना, रणनीतिक योजना, बजेट, वार्षिक नीति र कार्यक्रम सञ्चालन गरी विश्वविद्यालयको प्रत्यक्ष आर्थिक तथा भौतिक अनुदान सहयोगमा कार्यहरू भइरहेको छ । यसैगरी व्यवस्थापन समिति, उपसमितिहरू, शैक्षिक विभागहरू, प्रशासनिक तथा अन्य विभागहरूको गठन, काम, कर्तव्य र अधिकारसमेत तोकी कार्य व्यवस्थित गरिएको र गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्य भइरहेको छ । यस आधारमा क्याम्पस क्युएए प्राप्तिको अन्तिम चरणमा पुगेको छ । 

गुणस्तरीय शिक्षा प्रदान गर्दैै आएको उर्लाबारी बहुमुखी क्याम्पस पूर्वी क्षेत्रकै अभिभावकीय संस्थाको रूपमा रहेको छ । यसलाई पूर्वी पहाडी तथा तराई क्षेत्रको अझ आकर्षक शैक्षिक गन्तव्यको रूपमा विकास गर्न नयाँ विषय र कार्यक्रम थप गर्न क्याम्पस लागिपरेको छ । यही मेसोमा क्याम्पसले यसै वर्षदेखि व्यवस्थापन समूहतर्फ स्नातकोत्तर तह (ःद्यक्) थप गर्नका लागि प्रक्रिया अघि बढाएको छ । यसका लागि विश्वविद्यालयबाट क्याम्पसको स्थलगत अवलोकन भ्रमण हुँदै छ ।

एमबिएस कार्यक्रम थप हुनासाथ क्याम्पसले व्यवस्थापन सङ्कायमा पनि पूर्वी क्षेत्रकै एक सशक्त र पर्याप्त विद्यार्थीहरूको शैक्षिक आकर्षणको केन्द्र स्थलको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । अहिलेको जस्तै सर्वसाधारण, गरिब, विपन्न, दलित, जनजाति, आदिवासी र सीमान्तकृत लगायतका विभिन्न वर्ग र क्षेत्रका विद्यार्थी तथा समुदायको माग र चाहनाबमोजिम सुलभ तथा गुणस्तरीय वाणिज्य (व्यवस्थापन) तथा व्यावसायिक शिक्षाको व्यवस्था मिलाउने गरी एमबिबिएस कार्यक्रम ल्याउन लागिएको हो ।

यसै गरी व्यवस्थापन सङ्कायसम्बद्ध विषयगत, अन्तरविषयक फ्याकल्टीहरू मानवसंसाधन, शैक्षिक तथा भौतिक अवस्थितिको पूर्ण परिचालन तथा गुणात्मक सुधार ल्याई पूर्वी क्षेत्रमा व्यवस्थापनसँग सम्बन्धित उच्च शिक्षाको रिक्ततालाई पूरा गर्ने गरी नयाँ कार्यक्रम ल्याउन लागिएको छ । क्याम्पसको भौतिक, शैक्षिक, मानवीय र अन्य स्रोत साधनको पूर्ण परिचालन र सदुपयोग गर्दै क्याम्पसले समसामयिक नयाँनयाँ विषय र सङ्कायलाई थप गर्दै अघि बढ्ने नीति अख्तियार गरेको पाइन्छ । 

भौतिक उन्नतिमा पनि क्याम्पसको आफ्नै नाममा रहेको २ कट्ठा ४ धुर राजमार्गछेउको मूल्यवान् जग्गा छ । २२ कोठे ठूला तथा उज्याला कोठाहरू भएको शैक्षिक भवन, ८ कोठे २ तलाको नयाँ भवन र प्रशासनिक, पुस्तकालय भएको २ तलाको १० कोठे भवन छ । क्याम्पसमा अध्ययनरत १ हजार ४ सयभन्दा बढी विद्यार्थीका लागि यी भवनमात्रै पर्याप्त नभएको अवस्थामा क्याम्पसले वैकल्पिक व्यवस्थासमेत मिलाउँदै आएको पाइन्छ ।

यसै गरी कार्यक्रम सञ्चालन गर्ने छुट्टै हल भएको भवन, चमेना गृह, पार्किङ स्थल, खानेपानी आयोजनाबाट वितरित शुद्ध पिउने पानीको व्यवस्थासमेत भएको यस क्याम्पसको आफ्नै निजी बससमेत रहेको छ । साधारण पुस्तकालय, ई–लाइब्रेरी, ई–स्रोत भएको क्याम्पसमा प्रोजेक्टरबाट समेत पठनपाठन अघि बढाउँदै आइएको प्राध्यापक सङ्घका सभापति उमाकान्त न्यौपानेले बताउनुभयो ।

यस क्याम्पसमा प्रशासन, लेखा, परीक्षा, पुस्तकालय, विश्वविद्यालय अनुदान आयोगसँग सम्बन्धित शैक्षिक तथा अन्य तथ्याङ्क प्रणाली विश्लेषण सूचना सम्बन्धी कार्य गर्ने, विवरण तयार पार्ने, शैक्षिक सूचना तथा व्यवस्थापन प्रणाली ९भ्ःक्ष्क्० जस्ता शाखा र फाँटहरूको राम्रो व्यवस्थापन गरिएको छ । यिनीहरूमा विश्वविद्यालय अनुदान आयोगको मापदण्डमा पर्ने सफ्टवेयरहरू प्रयोग गरी सम्पूर्ण कार्य सफ्टवेयर, इन्टरनेट, ईमेल, विलिङ मेसिन, आइडेन्टी कार्ड मेसिन, लाइब्रेरीमा बारकोड मेसिन र स्क्यानरको प्रयोग हुने गरेको छ ।  

शैक्षिक उन्नतिकै लागि क्याम्पसमा व्यवस्थापन, मानविकी, शिक्षा, १ वर्षे बि. एड. र स्नातकोत्तर तहको छुट्टै व्यवस्थापनको लागि सहायक क्याम्पस प्रमुख, विभागीय र विषय शिक्षण प्रमुखहरू, स्नातकोत्तर तह कोअर्डिनेटर र अनुसन्धान समिति सहितको व्यवस्था गरिएको छ ।

समुदायकेन्द्रित यस क्याम्पसको आयस्रोत भनेकै विद्यार्थीबाट प्राप्त हुने मासिक शुल्क, अक्षय कोषबाट प्राप्त हुने ब्याज र विश्वविद्यालय अनुदान आयोगलगायत अन्य दाताबाट प्राप्त हुने अनुदान हो । पछिल्लो समयमा स्थानीय सरकार (नगरपालिका)बाट प्राप्त सहयोगले पनि क्याम्पसको सर्वाङ्गीण पक्षमा विकास हुँदै गइरहेको छ ।

सर्वाङ्गीण विकासका लागि क्याम्पस अहिले २० बर्से दीर्घकालीन गुरुयोजना बनाउनमा लागिपरेको छ । यसका लागि प्रा.डा. गोपालप्रसाद भण्डारीको संयोजकत्वमा सुझाव सङ्कलन कार्यदल बनी आवश्यक सुझावसमेत सिफारिस भइसकेको अवस्था छ । क्याम्पसको बृहत्तर विकासका लागि भवन तथा पूर्वाधार, भूमि व्यवस्थापन, दीर्घकालीन वित्त व्यवस्थापन र शैक्षिक एवम् प्राज्ञिक उन्नयनलाई विशेष जोड दिई गुरुयोजना निर्माण गर्न लागिएको क्याम्पस प्रमुख भट्टराईले बताउनुभयो । 

 नेपालको पूर्वी क्षेत्रमा स्थापित यस क्याम्पसलाई विद्यार्थी, अभिभावक, प्राध्यापक, समुदाय, सरोकारवाला, राजनीतिक दल, नागरिक समाजसँगै तीन तहकै सरकारले निरन्तररूपमा अझ बढी सर्वपक्षीय सहयोग गर्ने हो भने देशभित्रकै नमुना क्याम्पसको सूचीमा उर्लाबारी बहुमुखी क्याम्पस पनि सहजै पर्ने देखिन्छ ।