इटहरी। इटहरीमा सम्पन्न स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ । दमक नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो । 

उपाधिसँगै विराटनगरले नगद २ लाख रुपैयाँ हात पारेको छ । उपविजेता दमक नगरपालिकाले नगद १ लाख रुपैयाँमा चित्त बुझाएको छ । विराटनगरले उपाधि जितेको खुसियालीमा प्रतियोगिताका विशिष्ट अतिथिसमेत रहेका महानगरप्रमुख भीम पराजुलीले पुरस्कार राशिमा नगद २ लाख थप गरिदिएका छन् । आफ्ना नगरका खेलाडीहरूलाई २ लाख थप गरिदिएका हुन् । 

विराटनगरको जितमा भूवन बस्नेतले गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी विराटनगरका असिम राई घोषित भए । खेलको म्यान अफ दी म्याच दमकका प्रवीण राई घोषित भए । विराटनगरका सनम राई उत्कृष्ट गोलरक्षक, रमेश राजवंशी उत्कृष्ट डिफेण्डर, सुशान्त तामाङ, उत्कृष्ट फरवार्ड, भूवन बस्नेत सर्वाधिक गोलकर्ता र पारश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । दमकका माल्दिना आङ्पुचो उत्कृष्ट मिडफिल्डर भए ।

विजेता तथा उपविजेता टिमलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, प्रदेश १ का प्रमुख संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, एन्फा वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङ, मानार्थ उपाध्यक्ष किशोर राई, केन्द्रीय सदस्य दीपक राईलगायतले पुरस्कार वितरण गरे । 

इटहरीस्थित क्षेत्रीय रङ्गशालामा सम्पन्न प्रतियोगितामा प्रदेश १ का ८ वटा नगरपालिकाका टिम सहभागी थिए । चैत्र १३ गतेदेखि सुरु भएको प्रतियोगिताको काङ्ग्रेस महामन्त्री डाक्टर सशाङ्क कोइरालाले औपचारिक रूपमा उद्घाटन गरेका थिए ।