अब पनि कुनै पक्षबाट सरकार ढाल्ने चलखेल भयो भने मुलुक तुरुन्त निर्वाचनमा जाने संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद समेत रहेका ढकालले शुक्रबार आफ्नो निर्वाचन क्षेत्रको पथरी शनिश्चरेमा आयोजित ६४ औं राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । जिल्ला सहकारी संघको अगुवाईमा बनेको सहकारी दिवसको मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा मन्तव्यका क्रममा मन्त्री ढकाललले भने ‘अब पनि कुनै पक्षबाट सरकार ढाल्ने चलखेल भयो भने मुलुक तुरुन्त निर्वाचनमा जान्छ ।’
उनले अर्काे आवधिक निर्वाचन नहुन्जेलसम्मका एमालेको नेतृत्वको सरकारले नीति कार्यक्रम सञ्चालन गरिरहने कुरामा भ्रम पालिरहनु जरुरी नभएको पनि जनाए ।
साथै १ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेको अगुवाईमा मनकामना सामुदायिक वन क्षेत्रभित्र निर्माण भएको २०१३ सालमा नेपालमा पहिलो सहकारी स्थापना गर्ने चितवनको बखान ऋण सहकारी समितिका उत्प्रेरक बखानसिंह गुरुङको अर्धकदको प्रतिमा अनावरण समेत गरेका छन् । नगरपालिकाको ३ लाख ५० हजार सहित ४ लाखको लागतमा नेपालमै पहिलो पटक उनको शालिक र पार्कस्थल निर्माण गरिएको हो ।
१ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेशका कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कला घलेले सहकारीले व्यवसायिक उद्योग खडा गर्दै जिम्मेवारी ग्रहण गरेर थप जवाफदेही समेत बन्दै जानुपर्ने धारणा राखेका छन् ।
सो अवसरमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल, पथरीशनिश्चरे नगर पमुख दिलीपकुमार राई, सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेका अध्यक्ष गणेशकुमार राईले पनि सहकारी क्षेत्रको प्रभावकारिता उल्लेख गर्दै मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा, सहकारी अभियन्ता उर्लाबारीका मुक्ति बराल, लेटाङका चन्द्रप्रसाद गौतम र सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेलाई सम्मानपत्रले सम्मानित गरिएको छ । साताव्यापी कार्यक्रम अन्तर्गतका प्रतियोगिताका पुरस्कृतलाई पुरस्कार समेत प्रदान गरिएको छ ।
मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल समारोह समिति तथा उपसमितिहरु गठन गरी चैत १४ देखि सप्ताहव्यापी कार्यक्रम गरिएको थियो ।