धरान । पूर्वाञ्चल बागिना कला केन्द्रले हरेक वर्ष आयोजना गर्दै आएको सिङ्गिङ स्टार र मिस प्रदेश १ को आठौं र तेस्रो संस्करणको फाइनलको तयारी अन्तिम चरणमा पुगेको छ । 

अहिले फाइनलिष्टहरूलाई बन्द प्रशिक्षण दिइरहेको केन्द्रका अध्यक्ष भक्तिराज राईले बताए । सिङ्गिङमा टप १० छन् भने मिस प्रदेशमा ११ जना प्रतिस्पर्धी छन् । कोरोना महामारीका कारण अडिसन भएर रोकिएपछि यस वर्ष पनि थप अडिसन गरेर प्रतिस्पर्धी छनौट गरिएको अध्यक्ष राईले बताए ।

फाइनल वैशाखको अन्तिम साता गरिने तयारी भएको छ । गायनतर्फ भोजपुर, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, पाँचथरका प्रतिस्पर्धी छन् । उनका अनुसार बबिता गुरुङ, अर्जुन राई, अजुमा राई, निशा खपाङ्गी, रिजन लोहोनी, अर्जुन राई, पवित्रा राई, कल्पना तामाङ, अनुष्का ढकाल र सन्तोष लिम्बू टप १० का फाइनलिष्ट हुन् ।

गायन विजेतालाई नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, एक वर्ष निःशुल्क सङ्गीत प्रशिक्षण, एक थान गिटार र म्युजिक भिडियोको पनि अवसर दिइनेछ ।

दोस्रोले २५ हजार, एउटा गीत रेकर्ड र ६ महिनासम्म निःशुल्क सङ्गीत कक्षा, त्यस्तै तेस्रोले नगद १५ हजार रुपैयाँ ३ महिने निःशुल्क सङ्गीत कक्षा र एउटा गीत रेकर्डको अवसर पाउनेछन् । साथै व्यक्तिगततर्फ बेष्ट भोकल, बेष्ट डिसिप्लिन, बेष्ट पर्फमेन्स, बेष्ट पब्लिक च्वाइसलाई पनि पुरस्कृत गरिने छ । 

त्यस्तै मिस प्रदेशमा भने मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, उदयपुर र सङ्खुवासभाका प्रतिस्पर्धी छन् । मिस प्रदेशमा झरना लिम्बू, लेस्नी लिम्बू, अम्बिका राई, हाङ्मा लिम्बू, स्वेता भुजेल, मिश्र राई, सविना राई, लक्ष्मी मगर, दुर्गा श्रेष्ठ, जमुना लिम्बू, रचना लिम्बू फाइलनमा भिडन्त गर्दैछन् ।

मिस स्टेट विजेताले होण्डा कम्पनीको डिओ स्कुटीसहित क्राउन, म्युजिक भिडियोमा अवसर र बिबिएस अध्ययनमा पूर्ण छात्रवृत्ति दिइनेछ । त्यस्तै दोस्रोले ५० हजार रुपैयाँ, बिबिएस अध्ययनमा ५० प्रतिशत छुट पाउनेछन् ।

साथै तेस्रोले २५ हजार रुपैयाँसहित बिबिएस अध्ययनमा ३० प्रतिशत छुट पाउने जनाइएको छ । नवयुग होटलमा जारी बन्द प्रशिक्षणमा ट्राफिक व्यवस्थापन, उद्घोषण कला, महिला शसक्तीकरण, पत्रकारिता तालिमलगायत दिइसकिएको छ ।

अब भने नाम्जे भ्रमणलगायत साइबर अपराधबारे जानकारी, मिस ट्यालेन्ट, सामाजिक गतिविधिबारे जानकारी गराउने कार्यक्रम बाँकी रहेको अध्यक्ष राईले बताए ।