विजयपुर / केपी ओली समूहको नेकपा (एमाले)ले धरान नगरको समस्या र विकासका लागि केन्द्र सरकारसँग समन्वयकारी भूमिका खेल्ने जनाएको छ ।
हालै केन्द्रीय सदस्य मनोनित बनेका मुरारी सुवेदीको नेतृत्वमा गएको टोलीले धरान नगरको दीर्घकालीन विकासका लागि केन्द्र सरकारसँग समन्वयकारी भूमिकामा प्रस्तुत हुने बताएको छ । सुवेदीले धरानका जल्दाबल्दा पाँचवटा मुद्दाका विषयमा पनि राखेका थिए ।
जोगबनी–किमाथाङ्का सडकअन्तर्गतको धरानको मुख्य बजार भएर जाने सडकको मापदण्ड, खानेपानी व्यवस्थापन, सर्दु जलाधार, बसपार्क र सुकुम्बासी समस्या समाधानमा आवश्यक भूमिका खेल्ने केन्द्रीय सदस्य मुरारी सुवेदीले नगर प्रमुख तिलक राईसँग प्रस्ताव राखेका थिए ।
उनले सडकको मापदण्ड निश्चित नहुँदा बजारमा घर भएका घरधनीलाई समस्या परिरहेकाले त्यसलाई चाँडै हल गरेर अगाडि बढ्नुपर्ने बताए ।
त्यस्तै सर्दु जलाधार क्षेत्र धरानको खानेपानीको मुख्य स्रोत भएकाले त्यसको संरक्षणका लागि पनि भूमिका खेल्ने बताए । अहिले कतिपय क्षेत्रमा अतिक्रमण भइरहेको जनगुनासो आइरहेकाले त्यस विषयमा पनि गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
पाँचवटा मुख्य समस्यालाई निराकरण गर्न अहिले आफ्नो पार्टी सरकारमा रहेकाले पनि समाधान गर्न सहयोग गर्ने उनले बताए । त्योसँगै धरानका आवश्यक ठूला आयोजनाका विषयमा पनि जानकारी दिनका लागि आग्रह गरे ।
उनले आफ्नो पार्टी सरकारमा भएको बेला ‘लबिङ’ गर्न सजिलो हुने भएकाले जानकारीका लागि आग्रह गरे । यता धरान उपमहानगरका प्रमुख तिलक राईले पनि त्यस विषयमा छलफलको माध्यमबाट अगाडि बढ्ने बताए ।
उनले धरानको विकासका लागि आफूले पनि सक्दो पहल गरिरहेको बताए । उनले सबैको साथ सहयोग भएमा धरानको विकास गर्न असम्भव नभएको बताए ।