प्रतिगमनको परिभाषा नबुझ्नेले प्रतिगमन भयो भनेर जनतालाई अलमल्याइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
जनताको चेतनालाई केहीले प्रतिगमन भयो भन्दै स्याल हुइयाँ मच्चाएको ओलीको आरोप छ । ‘कोही शासनमा पुग्न पायो भने क्रान्ति भइहाल्ने, कोही शासनमा पुग्न पाएन भने प्रतिगमन हुन्छ ?, प्रम ओलीले भने, ‘म प्रधानमन्त्री हुन पाउनु पर्छ भनेर कुद्ने, अवैध बाटोबाट, त्यो भएन भने प्रतिगमन भयो भन्ने गरेका छन् ।’
शुक्रबार काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण कार्यक्रम उद्घाटनपछि ओलीले भने, ‘जनताको जागेको चेतनालाई प्रतिगमन भयो भन्ने स्याल हुइयाँ मच्चाए, कहाँ भयो प्रतिगमन ? प्रतिगमन भनेको के हो ? परिभाषा नै नबुझी प्रतिगमन भयो, ख्यालठट्टा हो प्रतिगमन भनेको ? यति सारो जनता अलमल्याउने ?’
प्रधानमन्त्री ओलीले कसैका व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा संघीयता, गणतन्त्र खतरामा रहेको अभिव्यक्ति दिने गरेको बताए । ‘संविधान मासियो, च्यातियो, मिचियो, गणतन्त्र खत्तम हुने भयो । लोकतन्त्र खत्तम हुने भयो । संघीयता त ध्वस्तै पार्न आँट्यो । यस्ता खालका कुराहरु व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टि अभिव्यक्ति गर्ने कुरामात्र हुन् । देश अगाडि बढ्छ, विकासको क्रम अगाडि बढ्छ । सरकारको यसैमा ध्यान छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना भएपछि पनि केही नेताको तानातानले काम अघि बढ्न नसकेको बताए । उनले भने, ‘संसद् तानातानको थलो भएको छ, संसद् केही बलिया हुँ भन्नेहरुको तानातानको थलो बनाउन हुँदैन ।’