भद्रपुर । झापामा हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत औषधि खुवाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय झापाको अगुवाइमा शुक्रबार विहानबाट  ८ लाखबढीलाई औषधी खुवाउने लक्ष्यका साथ शुरु गरिएको हो । 

कार्यालयले भद्रपुर नगरको १० नम्बर वडामा आयोजना गरेको कार्यक्रममा औषधि खाएर शुभारम्भ गरिएको थियो । अभियानमा उपस्थित भएका जिल्ला समन्वय समिति प्रमुख तथा अभियान संयोजक सोमनाथ पोर्तेल,भद्रपुर नगरका मेयर जीवन कुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, मेची अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट पिताम्बर ठाकुर विभिन्न सङघ्संस्था, सञ्चारकर्मी लगायतले औषधि खाएर अभियान शुरु गरेका थिए । 

जिल्लाका कूल ९ लाख ३३ हजार जनसँख्यामध्ये ८ लाख ४ हजार ५७ जनालाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । औषधि खुवाउनका लागि ६ सय जना स्वास्थ्यकर्मी र ६ सय जना महिला स्वयंसेविका परिचालन गरिएको कार्यक्रम संयोजक जीवन चम्लागाईले बताए ।

 चैत २० गतेदेखि चैत मसान्तसम्म झापाका १५ वटै स्थानीय तहमा अभियान शुरु भएको उनले जनाए ।

कार्यक्रमको उद्देश्यमाथि स्वास्थ्य कार्यालय झापाका कार्यालय प्रमुख इश्वरीप्रसाद पौडेलले प्रकाश पारेका थिए । १० औं चरणको हात्तिपाइले औषधि वितरण अभियान भएको बताउँदै नेपाल सरकारले सन् २०२६ सम्ममा निवारण गर्ने उद्धेश्य राखेको उनले जानकारी दिए ।

अभियान संयोजक पोर्तेलको सभापतित्वमा शुरु भएको कार्यक्रममा भद्रपुर नगरका मेयर श्रेष्ठ, डाक्टर ठाकुर लगायतले औषधि सेवनको उपयोगिताका बारेमा बताएका थिए ।