विजयपुर । सुनसरीको धरानस्थित सुमेधा एजुकेसन नेटवर्क प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार प्राली र कर्मचारीको एक दिनको तलबबाट दुई लाख रुपैयाँ सहयोग गरिएको हो । प्रालीका सञ्चालक सरेन्द्र घिमिरेका अनुसार संस्थामा कार्यरत २३ जना कर्मचारीको एक दिनको तलबबाट संकलित २६ हजार ६ सय रुपैयाँ र प्रालीको तर्फबाट १ लाख ७३ हजार ४ सय रुपैयाँ गरी जम्मा दुई लाख रुपैयाँ सहयोग गरिएको हो । विपद्को समयमा सरकारसँगै नागरिक तथा निजी क्षेत्रको पनि दायित्व हुने भएकाले राहत कोषमा सहयोग गरिएको घिमिरेले बताए । उनले सहयोगलाई प्रचारप्रसारको माध्यम बनाउने उद्देश्य नभएको स्पष्ट पार्दै भने, “अन्य व्यक्ति तथा संघसंस्थालाई पनि विपद्को समयमा सहयोग गर्न उत्प्रेरित गर्ने उद्देश्य हो ।” घिमिरेले विद्यार्थी तथा अभिभावकहरूलाई पनि सहयोग गर्न अनुरोध गरेको बताए । उनले विपद्को समयमा सबै पक्षले आ–आफ्नो क्षमताअनुसार सहयोग गरे पीडितलाई राहत पुग्ने बताए ।