विराटनगर । रसुवामा आएको विनाशकारी बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्लाका ८३ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको अवस्था अज्ञात रहँदा परिवारजन चिन्तित बनेका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी शेखर खनालका अनुसार कुल ८८ जना सम्पर्कविहीनको सूचीमा रहेकोमा ५ जना सम्पर्कमा आएका छन् भने बाँकी ८३ जनाको खोजी कार्य जारी छ । बाढीबाट सबैभन्दा बढी सोलुखुम्बुका नागरिक प्रभावित भएका छन्, जहाँका २७ जनामध्ये २६ जना अझै बेपत्ता छन् । यस्तै ओखलढुङ्गाका ८, इलामका ७, सुनसरीका ७, उदयपुरका ७, खोटाङका ८, मोरङका ७ (प्रदेश प्रहरीको तथ्याङ्क अनुसार), झापाका ६, ताप्लेजुङका ५ तथा संखुवासभा र भोजपुरका १–१ जना नागरिक सम्पर्कविहीन छन्। पाँचथर, धनकुटा र तेह्रथुममा भने हालसम्म कुनै क्षति वा बेपत्ताको विवरण प्राप्त भएको छैन ।

मोरङका १३ जनाको विवरण सार्वजनिक

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र मोरङले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार, रोजगारी र विभिन्न सिलसिलामा रसुवा पुगेका मोरङका १३ जना नागरिकहरू अझै सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा विराटनगरका शिव शंकर गुप्ता, सचिन गौतम, दुर्गा प्रसाद पोखरेल र सोम प्रसाद कटेल रहेका छन् । यस्तै, पूजा आचार्य नेपाल र उनका ३ वर्षीय नाति पनि रसुवाबाटै सम्पर्कविहीन भएका छन् ।

रंगेलीका सुरज मण्डल, पथरी शनिश्चरेकी रिचा निरौला, सुन्दरहरैँचाका सूर्यबहादुर कार्की र भोजराज अधिकारी तथा लेटाङका मेघा चेम्जोङ, सोना चेम्जोङ, देविमाया तामाङ र पासाङ तामाङको अवस्था अझै अज्ञात छ । उनीहरू हाइड्रोपावर, अध्यागमन कार्यालय र व्यावसायिक क्षेत्रमा कार्यरत थिए । यसैबीच, मोरङका २ जनाको भने सकुशल उद्धार गरिएको छ । ३८ वर्षीय गजेन्द्र थापा र प्रभु बैंक टिमुरेका प्रबन्धक रमनलाल श्रेष्ठको उद्धार गरी उपचार र सुरक्षामा राखिएको प्रशासनले जनाएको छ ।