विजयपुर । भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण अपर त्रिशूली थ्री बी हाइड्रोइलेक्ट्रिक आयोजनामा धरानका एक जनासहित १२ कर्मचारी सम्पर्कविहीन भएका छन् ।

आयोजनाका सुपरिवेक्षण परामर्शदाताको रूपमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएका हुन् । आयोजनामा कार्यरत धरान ६ पानबारीका जियोलोजिष्ट मुकेश नेपाल सम्पर्कविहीन भएको उनका मामा मानबहादुर पौडेलले बताएका छन् । उनले भने, “विपत्त आएको सूचना पाएपश्चात चार जना गाडीमा निस्किएको जानकारी आएको छ । चार जनामध्ये एक जना गाडीबाट हामफालेर बाहिरिएछन् । उनी सुरक्षित रहेको जानकारी पाएका छौँ ।” मामा पौडेका अनुसार जियोलोजिष्ट नेपाल अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनी कम्पनीका अन्य कर्मचारीलाई पनि बाढी आएको जानकारी गराउन गाडीमा निस्किएको बताइएको छ । तर, यता कम्पनीले राससलाई दिएको जानकारीअनुसार सम्पर्कविहीन भएका १२ जनामा धरानका मुकेशको नाम छैन ।

आयोजनामा सुपरिवेक्षणका लागि परामर्शदाताको रूपमा चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका विभिन्न तहका १२ जना कर्मचारी सम्पर्कविहीन भएकाले उद्धार तथा खोजी गर्नका लागि अनुरोध गरिएको छ ।

चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका प्रशासन अधिकृत विमल कडरियाले कम्पनीमार्फत अपर त्रिशूली थ्रि बी हाइड्रोइलेक्ट्रिक आयोजनामा विभिन्न तहमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी गरिदिनका लागि सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । 

कम्पनीका अनुसार आयोजनामा कार्यरत सिनियर टिम लिडर कमलबहादुर पाण्डे, कन्स्ट्रक्ट इन्जिनियर मनोज केसी, सिनियर जियोलोजिष्ट सुमेश अमात्य, सिनियर कन्स्ट्रक्सन इन्जिनियर निरज श्रेष्ठ, कम्पनीका प्रशासक तथा लेखा अधिकृत मणि दाहाल सम्पर्कविहीन भएको जनाइएको छ । 

त्यसैगरी सिनियर इलेक्ट्रिकल इन्जिनियर रविन्द्रकुमार यादव, सिभिल इन्जिनियर प्रवीन अमात्य, कन्ट्रयाक्ट एण्ड प्लानिङ इन्जिनियर प्रतीक भट्ट, सिभिल इन्जिनियर हेमन्तराज जोशी, चालक महेश नेपाली, कुक खिलबहादुर बुढाथोकी, कुक पुनम न्यौपाने सम्पर्कविहीन भएकाले खोजी कार्य गर्नका लागि अनुरोध गरिएको छ ।