भारतको राजधानी दिल्ली र आर्थिक केन्द्र मुम्बईमा कोरोना संक्रमणको तथ्यांक तीव्र गतिमा वृद्धि भइरहेको छ । महाराष्ट्रमा कोरोनाको विस्फोट भइरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

राज्यमा रात्रिकालीन कर्फ्यु लगाइएको छ । संक्रमणको तथ्यांक अनगिन्ती रहेको बताइएको छ । दिल्लीमा पनि कोरोना संक्रमणको तथ्यांक भयावह देखिएको छ । 

महाराष्ट्रमा रहेका ३ लाख ५७  हजार आइसोलेसन–बेड मध्ये एक लाख ७ हजार वटा बेड भरिएका छन् । ६०३४९ अक्सिजन बेडमा १२ हजार ७०१ भरिएका छन् । 

महाराष्ट्रको  कोरोना तथ्यांक त्रासदीपूर्ण रहेको आजतकले जनाएको छ । सोमबार ३१६४३ नयाँ संक्रमण देखिएको छ । १०२ जनाको  मृत्यु भएको छ ।

मुम्बईमा ५८९० नयाँ संक्रमण थपिएको छ भने १२ जनाको मृत्यु भएको छ । 

सोमबार दिल्लीमा १९०० भन्दा बढी नयाँ संक्रमित थपिए । भारतीय स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा १९०४ नयाँ संक्रमित देखिए । १०६ दिनपछि दिल्लीमा १९०० बढी कोरोना संक्रमित देखिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा ६ जनाको ज्यान गएको छ । 

गुजरातमा २२७० नयाँ संक्रमित देखिएका छन् । ८ जनाको मृत्यु भएको छ । अहमदाबादमा ६०७ नयाँ संक्रमित देखिएका छन् । सुरतमा ६११, वडोदरामा २०२, नयाँ संक्रमण देखिएको छ । सुरतमा १६४ र राजकोटमा १५९ संक्रमण देखिएको छ । युपीमा समेत संक्रमण बढिरहेको छ । यहाँ एकैदिन १४४६ नयाँ संक्रमण देखिएको छ ।