धरान । गाउँका कतिपय युवाहरू रोजगारी खोज्दै विदेशिए, कोही सुविधाको खोजीमा सहर झरे । गाउँमै रहेकाहरूमध्ये पनि अधिकांशले बाबु–बाजेले झैं परम्परागत शैलीमै कृषि पेशा अँगालिरहेका छन् । तर, दुई युवा भने गाउँमै बसेर आधुनिक शैली अपउनाउँदै कृषिमै व्यावसायिकता खोजिरहेका छन् ।

यो कथा हो, वराहक्षेत्र नगरपालिका–१ को पहाडी क्षेत्र सूर्यकुण्ड गाउँको । यही डाँडामा सम्भावना खोजिरहेका छन्, हेमकुमार राई र प्रकाश राई । उनीहरूका पनि आ–आफ्नै कथा छन् । गाउँका पढेलेखेका र नेतृत्व क्षमता भएका युवाका रूपमा चिनिने हेमकुमार पहिले शिक्षक थिए । घरछेउकै सूर्यकुण्ड प्राविमा लामो समय शिक्षण गरेका उनी गाउँमै उदाहरणीय काम गर्न चाहन्थे । केही वर्ष विदेशमा काम गरेर फर्किएका प्रकाशसँग उनको कुरा मिल्यो । अनि दुवै मिलेर गाउँमा आधुनिक तरिकाले बङ्गुर पाल्ने योजना बनाए । त्यसपछि सुरु भयो ‘आदि वराह बङ्गुर तथा कृषि फार्म’ ।

गाउँमा एक–दुईवटा बङ्गुर पाल्नेहरू त धेरै थिए तर, व्यावसायिक रूपमा पालन गर्ने कोही थिएनन् । त्यसैले पनि सुरुमा लगानी कहाँबाट जुटाउने भन्ने चिन्ता थियो । स्रोतको खोजीमा लागेका बेला वराहक्षेत्र–१ कै हरिद्वार कृषि सहकारी संस्थाले सरकारले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममार्फत् सहुलियतमा ऋण दिइरहेको थाहा पाए । सोही सहकारीबाट २ जनाले जम्मा ४ लाख रुपैयाँ ऋण लिएर सुरु गरेको बङ्गुरपालन अहिले गाउँमै उदाहरणीय बनेको छ ।

2 6

आधुनिक खोर बनाई १८ वटा बङ्गुरबाट सुरु गरेको फार्ममा अहिले १ सय २५ वटा पाठापाठी छन् । लगानी हालसम्म १५ लाख पुगेको हेमकुमार बताउँछन् । उनी भन्छन्, ‘गाउँमा कसैले यसरी व्यवस्थित रूपमा व्यवसाय नगरेकाले हामीलाई चुनौती थियो । अहिले गाउँका अरू युवाहरू पनि हेर्न आउँछन्, पाल्ने तरिकाबारे बुझ्छन् ।’ बङ्गुरको स्याहारमा धेरै समय खट्ने प्रकाश विदेशमा अरूका लागि गरेको श्रमभन्दा आफ्नै गाउँमा श्रम गर्दा खुसी लाग्ने बताउँछन् । सुरुमा धेरै दुःख गरेपनि अहिले बङ्गुरको उत्पादन राम्रो हुँदा खुसी लागेको बताउँछन् । उनी भन्छन्, ‘अहिले बङ्गुरका पाठा किन्न धरान र विभिन्न ठाउँबाट मान्छेहरू आइरहेका छन्, कोही फार्म हेर्नका लागि पनि आउँछन् । विदेशमा पसिना बगाउँदा यस्तो सन्तुष्टि कहाँ पाइन्छ र ?’

हेमकुमार र प्रकाशले यत्तिको सफलता त्यति सजिलै पाएका भने होइनन् । एक त गाउँमै केही गर्ने आँट गरेर फार्म सुरु गर्दा धेरैले विश्वास गरेनन् । किनकि यसअघि यो गाउँमा कृषिलाई व्यावसायीकरण गर्ने सोचै थिएन । उनीहरूले फार्म त सुरु गरे तर, गाउँमा खानेपानीकै समस्या थियो, टाढाबाट पानी बोकेर बङ्गुर हुर्काए । बङ्गुर फस्टाउँदै गएका बेला केही गाउँलेले ‘स्कुल नजिकै भएको’ भन्दै विरोध गरे । अहिले उनीहरूले फर्म अलि तल बारीमा सार्ने तयारी पनि गरिरहेका छन् ।

हेमकुमारको घरमा होम–स्टे पनि सुरु भएको छ । कृषि र पर्यटनलाई जोड्न सूर्यकुण्ड र चियाबारीका पाँच घरमा सामुदायिक होम–स्टे सञ्चालन भएको छ । यहाँको होम–स्टेमा बस्न आउनेलाई लोकल कुखुराको मासु, तीते, कोदोको ढिँडोजस्ता स्थानीय उत्पादन खुवाउने गरेको हेमकुमार बताउँछन् । उनी भन्छन्, ‘पाहुनाहरू आएर आफ्नै घरमा जसरी पकाएर पनि खान सक्छन्, यहीँको परिकार खाएर, यहीँ बसेर रमाइलो गर्छन् ।’

सरकारले कृषकहरूलाई विभिन्न अनुदान दिने गरेको छ तर, त्यस्ता अनुदान वास्तविक कृषकले भन्दा नेता र कर्मचारीका आफन्त र कार्यकर्ताले कागज मिलाएर पाउने गरेका प्रशस्त उदाहरण छन् । गाउँमा नयाँपुस्तालाई समेत बाटो देखाउँदै कृषिमा उदाहरणीय काम गरिरहेका हेमकुमार र प्रकाशले भने अहिलेसम्म कतैबाट अनुदान पाएका छैनन् । त्यसको खासै आशा पनि छैन । हेमकुमार भन्छन्, ‘अनुदानको धेरै दुरुपयोग भएको छ बरु सरकारले अनुदानको साटो किसानलाई सहुलियत दिए हुन्थ्यो ।

उत्पादन भएपछि तिर्ने गरी ऋण दिए हुन्थ्यो ।’ हरिद्वार कृषि सहकारी संस्थाका लेखा समिति संयोजक कृष्ण भण्डारी हेमकुमार र प्रकाशले गाउँमा नमुना काम गरेको बताउँछन् । ‘उहाँहरूले गरेको काम देखेर अन्य युवाहरू पनि सहकारीमा बुझ्न आउँछन् । उहाँहरू गाउँका लागि नमुना कृषकका रूपमा चिनिनुहुन्छ’ उनी भन्छन्, ‘उहाँहरूको मेहनत देखेरै हामीले उत्पादनको बजारीकरण गर्ने र आवश्यक कुरा जुटाउन साथ दिँदै आएका छौं । सरकारले यस्ता कृषकलाई प्रोत्साहन गर्नसके धेरै युवाहरू कृषिमा लाग्न सक्छन् ।’