प्रदेश १ का चार मन्त्रीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सपथ ग्रहण गराएलगत्तै आ–आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि विभिन्न निर्णयहरू गरेका छन् ।
शुक्रबार सपथ ग्रहण गरेपछि आ–आफ्नो मन्त्रालय पुगेर उनीहरूले पदभार ग्रहण गरेलगत्तै विभिन्न निर्णायहरू गरेका हुन् ।
मुख्यमन्त्री शेरधरन राईले ताप्लेजुङका टंक आङ्बुहाङ्ग लिम्बूलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् ।
त्यस्तै, इलामका रामबहादुर मगर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, खोटाङकी उषाकला राई सामाजिक विकास मन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्री पदमा नियुक्त भएका छन् ।
यसैगरी, मोरङका राजकुमार ओझाले उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र उदयपुरकी कला घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राजयमन्त्रीको जिम्मेवारी पाएका छन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको पदोन्नति भई सोही मन्त्रालयको मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
नवनियुक्त मन्त्रीहरू मध्ये आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ग माओवादी केन्द्र छोडेर प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपा एमाले प्रवेश गरेपछि मन्त्री भएका हुन् । प्रदेशको यातायात व्यवस्था सम्बन्धी एउटा कार्यक्रमको फाइल सदर गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले पदभार ग्रहण गरे ।
मन्त्री टंक आङ्बुहाङ्गले प्रदेशको आर्थिक धरातलमा टेकेर बजेट निर्माण गर्ने तथा यस अघि भएका कमिकमजोरी सच्याउदै अघि बढ्ने बताए । उनले प्रदेशको धरातलका आधारमा बजेट र कार्यक्रम अघि बढाउने बताए ।
मन्त्री आङ्बोहाङ्गले प्रदेश यातायात कार्यालय विराटनगरबाट अनलाइन सफ्टवेरमार्फत् सेवा प्रवाह गर्न आवश्यक एउटा कम्प्युटर र प्रिन्टर खरिद प्रस्ताव स्वीकृत गरे । पदभार ग्रहण गर्दै उनले कोभिडका कारण प्रभावित भएको प्रदेशको अर्थतन्त्रलाई प्रदेशको वास्तविक धरातलमा आधारित भएर अगाडि बढाउने बताए ।
प्रदेशको सबै मन्त्रालय र संघीय सरकारसँग समन्वय गरी सन्तुलित ढंगले अघि बढ्ने आफूले सोचेको बताए ।
दातृराष्ट्रहरुबाट आउने अनुदान र सहयोगका लागि पनि आफूले पहल प्रयत्न गर्ने उनले बताए । आगामी बजेटको प्राथमिकता के हुन्छन् भन्ने विषयमा भने उनले अध्ययन गरेर तय गर्ने प्रतिकृया दिए ।
भर्खर मन्त्रीको रुपमा नियुक्त भएको र अहिलेको अवस्था अध्ययन गरी कमिकमजोरी सच्याउदै अघि बढ्ने उनले बताए ।
सामाजिक विकास मन्त्री उषाकला राईले पदभार ग्रहण गरेपछि मन्त्रालयको काम नयाँ ढंगले अगाडि बढाउने बताइन् । उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने उनको भनाइ छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले एउटा मात्र निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रतीले जानकारी दिए । उनका अनुसार मन्त्रीले मोरङको कटहरी गाउँपालिका १ मा रहेको कटहरी फलफूल तथा तरकारी थोक बजारको समिति गठनमा मन्त्रालयदेखि दुई जना कर्मचारी पठाउने निर्णाय गरेको जानकारी दिए ।
कटहरी थोक बजार समितिमा मन्त्रालयको तर्फबाट प्रदेश सहकारी रजिष्टारको कार्यालयका प्रमुख रजिस्टार बलराम निरौलाको नेतृत्वमा दुई सदस्य पठाउने मन्त्री मगरले निर्णायले गरेका हुन् । समितिको सदस्य सचिवमा मन्त्रालयका सहकारी महाशाखाका तोयानाथ तिम्सिनालाई पनि पठाउने निर्णाय भएको प्रवक्ता उप्रेतीले जानकारी दिए ।