धरान। धरान–१७ स्थित श्रीमाविको गोर्खा भूपू सैनिक बास्केटबल कोर्टमा शनिबारदेखि सुरु भएको चारदिने पाँचौं राष्ट्रिय होराइजन बास्केटबल कप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्लबलाई ६५–३५ स्कोरको फराकिलो अन्तरले हराउँदै रूपन्देही बास्केटबल क्लब विजयी भएको छ ।

रूपन्देही टिमले आयोजक क्लबविरुद्ध प्रत्येक क्वार्टरमा २–१८, १४–२३, ११–१० र ८–१४ स्कोर गरेको थियो । खेलका म्यान अफ दी म्याच घोषित रूपन्देहीका दिनेश मगरले व्यक्तिगत १५ स्कोर गर्दै नगद १५ सय रुपैयाँ हात पारे । 

अर्को खेलमा इटहरीको तरहरा बास्केटबल क्लबले धरानको ब्रदर्स बास्केटबल क्लबलाई ५०–३७ स्कोरले पराजित गर्दै पाखा लगाएको थियो । नकआउटको आधारमा सञ्चालित उक्त खेलको प्रत्येक क्वार्टरमा दुवै टिमले ७–११, ११–१४, १३–१६ र १९–६ स्कोर गरेका थिए ।

खेलका म्यान आफ दी म्याच तरहराका सुमन बस्नेतले व्यक्तिगत २५ स्कोर गर्दै नगद १५ सय रुपैयाँ पाए । प्रतियोगिताको सबै म्यान अफ दी म्याच पुरस्कार सेण्ट जोसेफ स्कुलले प्रायोजन गरेको छ । 

धरान–१७ समाज हङ्कङको मुख्य प्रायोजन र टर्की नेपाली समाज अङ्काराको सह–प्रायोजनमा सञ्चालित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछ । 

आयोजक क्लबका अध्यक्ष वसन्त राईका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ, नवप्रतिभा घोषित खेलाडीलाई नगद ५ हजार दिइनेछ ।

आज (आइतबार) को खेल धरानको इम्मोर्टल बास्केटबल क्लबविरुद्ध युवा जागृति बास्केटबल क्लब र काठमाडौंको आर्मी क्लब विरुद्ध आइएफजे नेपालबीच स्पर्धा हुनेछ ।